काठमाण्डु– सरकारले बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाउने उद्देश्यसहित सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले असहमति जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते धनगढीमा बालबालिकालाई औषधि खुवाएर उक्त अभियानको सुरुआत गरेका थिए।
मन्त्री पौडेलले यसलाई आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित स्वदेशी औषधि भन्दै प्रचार गरेका छन्।तर, यस औषधिको वैज्ञानिक प्रमाण, नियामक स्वीकृति र प्रभावकारिताबारे स्पष्ट तथ्याङ्क नभएको भन्दै चिकित्सक संगठनको आपत्ति छ।
नेपासका अध्यक्ष डा. अरुणकुमार न्यौपानेले विज्ञप्ति जारी गर्दै औषधि दर्ता, व्याच परीक्षण र नियामक पारदर्शिता सार्वजनिक नगरी बालबालिकालाई यस्तो औषधि खुवाउनु असुरक्षित हुने बताएका छन्।“उपलब्ध वैज्ञानिक प्रमाण र बालसुरक्षा सम्बन्धी मापदण्ड अपर्याप्त देखिएका छन्। स्वर्णकल्पबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने आधार भेटिएको छैन,” विज्ञप्तिमा भनिएको छ।
यो पनि बालबालिकालाई खुवाउन थालियो ‘सुन भएको औषधि’
सरकारले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै पहिलो चरणमा देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाबाट औषधि वितरण सुरु गर्ने योजना बनाएको हो। यसबारे नेपासले वैज्ञानिक प्रमाण र नियामक स्पष्टता नआएसम्म अभियान स्थगित गर्न माग गरेको छ।





प्रतिक्रिया