काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले सहकारी ठगीका मुख्य आरोपी जीबी राईका सल्लाहकार फुक्काफाल हिँडिरहेको बेला पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्नुको कारण खोज्दै प्रश्न गरेका छन् ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका रविको बचाउमा मंगलबार बालुवाटारमा जारी प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘जीबी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार हुनुहुन्छ । रवि लामिछानेलाई जस्तै आरोप लागेकाहरू हिँडिरहेका छन् तर उहाँलाई चाहिँ किन थुनामै राख्नुपर्ने ?’
सरकारलाई प्रतिशोधको राजनीति नगर्न उनले चेतावनी दिए । ‘अहिले आफू सरकारमा हुँदा अरुलाई लखेट्ने, १२ वर्षपछि खोला फर्किन्छ भनिन्छ । सबैतिर सोच्नुपर्छ,’ उनले भने ।
सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईका तत्कालीन सल्लाहकार बाबुराम कुँवर अहिले राष्ट्रपति रामचन्द्र पौडेलका कानूनी सल्लाहकार छन् । रास्वपाले उनीमाथि पनि छानबिन गर्न माग गर्दै आएको छ । कुँवरले भने आफू पहिल्यै जीबीको कानूनी सल्लाहकारबाट बाहिरिसकेको प्रस्ट पारेका छन् ।
रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने उनले बताए । आयोगमा आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने घोषणा उनले गरे ।
सहकारी ठगी र संगठित अपराध कसूरमा प्रहरीले रविलाई कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।




प्रतिक्रिया