काठमाण्डु – अर्थमन्त्रीको कार्यभार सम्हालेको पहिलो हप्तामै डा.स्वर्णिम वाग्लेले निकै आक्रामक र परिणाममुखी कार्यशैली प्रस्तुत गरेका छन् ।
गत शुक्रबार पदभार ग्रहण गरेकै दिनदेखि उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन राजस्व चुहावट नियन्त्रण, नीतिगत सुधार र निजी क्षेत्रको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राखेका छन् ।
कार्यभार सम्हालेको पहिलो दिनमै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रप्रति उदार र सहयोगी बन्ने सन्देश दिँदै १५ वटा पुराना कानुन खारेज गर्ने साहसिक निर्णय गर्न पुगे । नेपाल उद्योग परिसंघसँगको भेटमा उनले ‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँ तर त्यसको अर्थ छाडापन होइन, नियमनकारी भूमिका पनि सशक्त रहन्छ’ भन्दै निजी क्षेत्रलाई भरोसा दिलाउने काम गरेका थिए ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उनले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
२०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गरिने अर्थमन्त्रीको योजना छ । यससँगै निर्वाचन वाचा कार्यान्वयनका लागि १०० दिने योजना, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना निर्माण गरिने जनाइएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस गरिएका व्यवस्थाहरू कार्यान्वयनतर्फ सरकार अघि बढ्ने भएको छ ।
राजस्व संकलनमा कडाइ र भन्सार अनुगमन
राजस्व लक्ष्य प्राप्तिमा देखिएको चुनौती चिर्न मन्त्री वाग्ले आफैँ मैदानमा उत्रिएका छन् । उनले भन्सार विभागको आकस्मिक अनुगमन गर्दै कर्मचारीहरूलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । राजस्व संकलनमा सुधार ल्याए प्रोत्साहनका कार्यक्रम ल्याउने तर बेइमानी गरे निर्मम भएर दण्डित गर्ने उनको चेतावनी छ । राजस्व संकलनमा प्रधानमन्त्री कार्यालयले समेत विशेष चासो राखेको भन्दै उनले कर्मचारी संयन्त्रलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।
उच्चस्तरीय समन्वय र चुहावट नियन्त्रण
बिहीबार अर्थमन्त्री वाग्लेले गृह प्रशासन र सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक गर्दै राजस्व चुहावट नियन्त्रणमा कडा कदम चाल्ने निर्णय गरेका थिए । गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू सहितको उक्त बैठकमा सीमा नाकाबाट हुने चोरी पैठारी र तस्करी नियन्त्रण गर्न एकीकृत कार्ययोजना बनाउने सहमति भएको छ ।
बजेट लेखन समिति गठन
आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा अर्थमन्त्री वाग्लेबाट संघीय संसद्मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति बनाएको हो ।
समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । यो समितिले मुलुकको वर्तमान आर्थिक परिवेश र विकासका लक्ष्यहरूलाई सम्बोधन गर्ने गरी आगामी बजेटको पूर्ण खाका तयार पार्नेछ ।
वीरगन्ज नाकाको स्थलगत निरीक्षण
आफ्नो सक्रियतालाई थप गति दिँदै शुक्रबार अर्थमन्त्री वाग्ले देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज पुगेका थिए । आन्तरिक राजस्व कार्यालय र वीरगञ्ज भन्सारको निरीक्षण गर्दै उनले सेवाग्राहीलाई अनावश्यक दु:ख नदिन र लाइनमा नराख्न निर्देशन दिएका थिए । लक्ष्यभन्दा बढी राजस्व संकलन गर्नुपर्ने दबाबमा रहेका कर्मचारीहरूलाई उनले व्यावसायिक र पारदर्शी ढंगले काम गर्न सचेत गराए ।
अर्थमन्त्रीका रूपमा डा. वाग्लेको पहिलो हप्ताले राज्य संयन्त्रमा नयाँ उत्साह र निजी क्षेत्रमा सकारात्मक आशा जगाएको छ । नीतिगत गाँठो फुकाउने, कर्मचारीलाई जवाफदेही बनाउने र ठूला व्यवसायीदेखि साना उद्यमीसम्मलाई ‘गरिखाने’ वातावरण बनाउने उनको सुरुआती कदमले आगामी बजेट र आर्थिक सुधारको दिशा कस्तो हुनेछ भन्ने स्पष्ट संकेत गरेको छ ।
यद्यपि पश्चिम एशियामा जारी इरान र इजरायल बिचको द्वन्द्व कारण देशभित्र बढ्दै गएको महंगी र मूल्यवृद्धिका बारेमा भने अर्थमन्त्री वाग्लेले हालसम्म कुनै चासो देखाएको देखिँदैन । खाना पकाउने एलपी ग्यासको अभाव, पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यवृद्धि कारण आम उपभोक्ताको ढाड सेकिरहेको अवस्थामा उपभोक्तालाई कसरी राहत दिने भन्ने बारेमा भने अर्थमन्त्रीको ध्यान खिच्न सकेको छैन ।




प्रतिक्रिया