महिमा स्वस्थानी व्रत आजदेखि सुरु

महिमा स्वस्थानी व्रत आजदेखि सुरु


काठमाडौँ – पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत सोमबार (आज) देखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ।

सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु गर्दैछन्। पञ्चांगहरूमा सोमबार पौषशुक्ल पूर्णिमा बिहान ११स्३० बजेसम्म उल्लेख छ।
नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्परा छ।

व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ। श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ आठ वस्तु पति पत्नी वा छोराछोरीलाई दिइन्छ।

प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ। चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैँले खान्छन्। सोमबार नै काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला सुरु भएको छ। यस्तै भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको मेला लागेको छ। श्रद्धालुहरू महिनाभर शालीनदी किनारमा बसी निष्ठापूर्वक व्रत पूरा गर्छन्। यससँगै माघस्नान पनि सुरु भएको छ।

‘भविष्यपुराण, विष्णुवचन तथा धर्म्सिन्धु नामक ग्रन्थमा यो महिनामा स्नानको महिमा बताइएको छ’, पुराणविद् पं. बालमुकुन्द देवकोटा भन्छन्, ‘यो वेला घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने उल्लेख छ।’ यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

परम्परादेखि नै स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालिनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।