काठमाण्डु – नेपालमा आगामी फागुन २१ गते निर्वाचनको तयारी भइरहँदा विभिन्न दलका नेताहरूको दिल्ली दौड बाकिलिएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्लीबाट फर्केलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले पनि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
उपसभाति वाग्ले बुधबार बिहान इन्डिगो एअरको उडानबाट भारतको राजधानी नयाँ दिल्ली उडेका हुन् । उनीसँगै नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेल र पूर्वराजदूत विजयकान्त लालकर्ण पनि छन् । वाग्ले र पोखरेल अर्थशास्त्री हुन् ।
‘जेनजी आन्दोलनपछि नेपाल–भारतको सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनीहरू दिल्ली प्रस्थान गरेका हुन् ।
नेकपाका संयोजक प्रचण्ड दिल्लीमै रहँदा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा पनि दिल्ली गएकी हुन् ।
प्रचण्ड दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि वार्ता गरेका थिए ।राणा उपचारका लागि दिल्ली गएकी जनाइएको छ तर उनले त्यहाँ राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम छ ।
त्यसअघि पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षण डा. बाबुराम भट्टराईले पनि दिल्ली भ्रमण गरेका थिए । त्यहाँ उनले राजनीतिक भेटघाट गरेका थिए ।




प्रतिक्रिया