काठमाण्ड – नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सीधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ ।
स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले टी–२० विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो ।
आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सीधै ग्लोबल क्वालिफायरमा खेल्ने पाउनेछन् । स्कटल्यान्डले भने २०२६ को प्रदर्शनका आधारमा सीधै युरोप क्षेत्रीय छनोटको फाइनलमा स्थान बनाउनेछ ।
ग्लोबल क्वालिफायरका बाँकी ८ ठाउँमा अफ्रिका, एशिया र युरोपबाट २–२ टोली तथा अमेरिका र पूर्वी एशिया–प्रशान्त क्षेत्रबाट १–१ टोली छनोट हुनेछन् ।
ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य ३ उत्कृष्ट टोली गरी ८ टोली सन् २०२८ को विश्वकपमा छनोट हुनेछन् ।
आईसीसीको नयाँ ढाँचाअनुसार अब टी–२० विश्वकपको समूह चरणमा २० टोलीलाई चार वटा समूहको सट्टा पाँच वटामा विभाजन गरिनेछ । हरेक समूहमा ४–४ टोली हुनेछन् ।
यस्तै पहिलेको सुपर एटको सट्टा अब सुपर टेन हुनेछ । यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुई वटा समूहमा बाँडिनेछ ।
सुपर टेनबाट दुवै समूहका शीर्ष टोली सीधै सेमिफाइनलमा पुग्नेछन् । यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमिफाइनलमा पुग्न एक–अर्कासँग एलिमिनेटर खेल्नुपर्नेछ ।
यस्तै १४ टोली सहभागी हुने एकदिवसीय विश्वकप अब तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा पुछारका तीन टोली (१२औँ, १३औँ र १४औँ स्थान)बीच सुपर सिरिज हुनेछ । यसको विजेता अर्को चरणमा प्रवेश गर्नेछ ।
दोस्रो चरणमा १२ टोलीलाई दुई वटा समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष तीन टोली र समग्रमा अर्को एक उत्कृष्ट टोली गरी सात वटा टोली अर्को चरणमा पुग्नेछन् ।
सुपर सेभेनमा सातै टोलीले एकअर्कासँग खेल्नेछन् । यस चरणको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । यसअघि एकदिवसीय विश्वकपमा १४ टोलीलाई दुई वटा समूहमा विभाजन गरिन्थ्यो । यसबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने गर्दथे । सुपर सिक्सका दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्थे ।




प्रतिक्रिया