टी-२० विश्वकप :नेपाल कतारसँग ४ विकेटले पराजित


काठमाडौं – आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । पहिलो खेलमा नै नेपाल कमजोर प्रतिद्वन्द्वी कतारसँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । कमजोर टोली कतारसँग परजित भएपछि ग्लोबल क्वालिफायरमा छनोट हुँदै विश्ककपको यात्रा तय गर्ने नेपालको बाटो अप्ठेरो बनेको छ।  नेपालका लेग स्पीनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा ३३ रन दिएर ३ विकेट लिए पनि त्यसले हार टार्न सकेन । करण केसीले १ विकेट लिए । कतारका लागि इनाम उल हकले ४१, कमरान खानले २२, नौम्यान सरवारले १५, जाहिर इब्राहिमले १२ रनको योगदान दिए ।

यसअघि इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो ।नेपालले राम्रो सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । कप्तान पारस खड्काले १७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए भने ज्ञानेन्द्र मल्लले १ चौका र १ छक्कासहित २३ रन बनाए ।

त्यसपछि ब्याटिङमा आएका सरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी ३४ रन बनाए । ३५ बलको सामना गरेका उनले १ चौका र १ छक्का हाने । सोमपाल कामीले ११, सन्दिप लामिछानेले ९ रनको योगदान दिए । कतारका लागि इक्बाल हुसेनले ३, नौम्यान सरवार र तमूर सज्जादले समान २–२ विकेट लिए भने इनाम उल–हकले १–० विकेट लिए ।

प्रतियोगितामा सिंगापुर, कतार, नेपाल, मलेसिया र कुवेतको सहभागिता छ।राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको च्याम्पियन टिम विश्व छनोट प्रतियोगितामा पुग्नेछ। नेपालले बुधबार मलेसियासँग खेल्नेछ। विश्व छनोटमा पुग्न नेपालालाई मलेसियाविरुद्धको खेलमा जीत हात पार्नै पर्ने दबाब हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement