ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङमा मलेसियाविरुद्ध नेपालको शानदार जीत


काठमाडौं – कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धसतकसँगै नेपाले टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ ।

वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा विनोद भण्डारीले छक्का हान्दै नेपाललाई जिताएका हुन् ।

नेपालको जितमा कप्तान मल्लले अर्धशतक बनाए । २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् ।

यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् । सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement