काठमाण्डु – आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले बुधबार ओमानसँग खेल्दैछ ।
आजको खेलमा नेपालले जित निकाले आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुनेछ ।
बुधबार साँझ पौने ९ बजे हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-ट्वेन्टी विश्वकपमा स्थान बनाउनेमा मात्रै केन्द्रित हुने छैन, शीर्ष स्थानको लडाईं पनि हुनेछ।
समूह विजेता बन्दै सुपर सिक्सको पनि पहिलो दुई खेल जितेपछि ओमान र नेपाल यति बलियो स्थितिमा पुगेको छ ।
विगतको नतिजाअनुसार नेपाल ओमानभन्दा पछि छ। तर, नेपाली टोलीको पछिल्लो प्रदर्शन र ओमानको अहिलेको टोलीलाई हेर्ने हो भने नेपालको पल्ला भारी छ।
विगतमा यी दुई टोलीबीच आठ टीट्वेन्टी खेल भएको छ। जसमा नेपालले तीन खेलमा जित निकालेको छ भने पाँच खेल ओमानको पक्षमा गएको छ।
सुपर सिक्समा नेपालले यूएईमाथि १ र कतारमाथि ५ रनको सनसनी जित पाएको थियो ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । तीन समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुगेका छन् ।
सुपर सिक्सका ६ टोलीबाट माथिल्लो तीन स्थानका टोली फेब्रुअरी–मार्चमा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् । विश्वकप भारत र श्रीलंकामा संयुक्त आयोजना हुनेछ ।




प्रतिक्रिया