बाटोमै फालिए अव्यवस्थित तार, पैदलयात्रुलाई समस्या

बाटोमै फालिए अव्यवस्थित तार, पैदलयात्रुलाई समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाण्डु महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो। तर तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढेको छ।

बाटोमै तार फालिएपछि पैदलयात्रुलाई समस्या भएको काठमाडौं महानगरपालिका–९ सिनामङ्गलका ज्ञानु राणाले बताए। ‘अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो, तर काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ,’ उनले भने।

बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उनको भनाइ छ। सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढिरहेका छन्।

काठमाण्डु महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो। सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए।