काठमाण्डु-तनहुँको आखुखैरनी नजिक ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिएका छन् । दुर्घटनामा १६ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ । उनीहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ । अन्य यात्रीको ओजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ६ जना नदीमा बेपत्ता छन् । बसमा ४० यात्री रहेको जनाइएको छ । पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ को भारतीय नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मस्र्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस सडकभन्दा करिब एक सय ५० मिटर तल नदीमा खसेको हो ।
भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।
भारतीय यात्रुहरू गोरखपुरबाट २ दिनअघि पोखरा आइपुगेका थिए । उनीहरू बुधबार भारतको गोरखपुरबाट नेपाल आएका थिए । बुधबार र बिहीबार पोखरास्थित मझेरी रिसोर्टमा बसेर उनीहरू आज बिहान काठमाडौँका लागि हिँडेका थिए ।




प्रतिक्रिया