बीपी प्रतिष्ठानमा मेयर हर्कको ताला, समस्या सुल्झाउन प्रधानमन्त्रीको निर्देशन

बीपी प्रतिष्ठानमा मेयर हर्कको ताला, समस्या सुल्झाउन प्रधानमन्त्रीको निर्देशन


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन्।

स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएका समस्या समाधान गर्न निर्देशन पनि दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाएकाले गम्भीररुपमा लिन मन्त्री बस्नेत र मुख्यसचिवलाई निर्देशन दिएका हुन्।

प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की केही समयदेखि सम्पर्कविहीन छन्। शिक्षक र कर्मचारीको आन्दोलनबीच उनी गायब भएपछि उनको कार्यकक्षमा प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका धरानका मेयर हर्क साम्पाङले सोमबार ताला लगाइदिएका छन्।