तल्लो मोदी–१ का कर्मचारी आन्दोलनमा उत्रिए

तल्लो मोदी–१ का कर्मचारी आन्दोलनमा उत्रिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत – पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् ।

यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्यहाँ आयोजना र कार्यरत कर्मचारीबीच विवाद उत्पन्न भएको छ । केही महिनाअघि पनि कर्मचारी र आयोजनाबीच विवाद भएपछि १२ प्रतिशतसम्म तलब वृद्धि गर्ने सहमतिसहित विवाद सुल्झिए पनि पुनः कर्मचारीले तलब वृद्धि नगरी भत्तामात्रै वृद्धि गरेको भन्दै आन्दोलित बनेका हुन् ।

आयोजनामा कार्यरत असन्तुष्ट ३५ कर्मचारीले आयोजनाले पटक–पटक आफूहरुलाई झुक्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले आवश्यक न्याय दिलाउन माग गरेका छन् ।

‘आयोजनाले हाम्रो माग कहिल्यै सुनुवाइ गरेन’, आन्दोलित कर्मचारी सङ्घर्ष समितिका संयोजक भुवन अधिकारीले भने, ‘जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको निर्णय पनि कार्यान्वयन नगर्दा झनै समस्या भयो। ’

उनले आइतबारसम्म पुनःविचार नगरेमा आयोजनाको सम्पूर्ण तालाचाबी प्रवद्र्धक कम्पनीलाई बुझाउने चेतावनी दिए ।

आन्दोलनरत कर्मचारीले ४० प्रतिशत तलब वृद्धि, महङ्गी भत्तालगायतका भत्ता रकम वृद्धि, पोशाक भत्ता, बीमालगायतका माग राखेका थिए । श्रम ऐनअनुसार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कर्मचारी विनियमावलीमा सुधार गर्ने, कार्यस्थलको सुरक्षा र कामदारको सुरक्षामा समेत ध्यान दिने सहमति भएको थियो ।

यता आयोजनाका निर्देशक उपेन्द्र गौतमले भने कर्मचारीको असन्तुष्टि बेला–बेलामा रहँदै आएको र आयोजना र कर्मचारीबीच देखिएका समस्यालाई छिट्टै नै बसेर सहमति खोजिने बताए । दश मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाले विगत आठ वर्षदेखि उत्पादन दिँदै आएको छ ।