काठमाण्डु – कैलालीको गोदावरी–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा ट्याम्पोलाई भीरबाट खसालिएको प्रकरणमा २ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा जाहेरी दर्ता भएको छ ।
ट्याम्पो चालक धनु धामीको किटानीका आधारमा दुवै जनाविरुद्ध जाहेरी दर्ता गरी अदालतबाट ७ दिनको थुनामा राख्ने अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
घटनामा नियन्त्रणमा लिइएका वन रक्षकसहित अन्य १० कर्मचारीलाई बोलाएको बेला उपस्थित हुने शर्तमा हाजिरी जमानीमा रिहा गरिएको छ ।
वन कर्मचारीले स्थानीय धनादेवी धामीले खुद्रा पसल सञ्चालन गरेको ट्याम्पो भीरबाट फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि १२ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनाको छानबिनका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।




प्रतिक्रिया