पूर्व सञ्चार राज्यमन्त्री विष्टको कोरोना संक्रमणबाट निधन

पूर्व सञ्चार राज्यमन्त्री विष्टको कोरोना संक्रमणबाट निधन


सुर्खेत- नेपाली काँग्रेसका नेता एवंम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ। आइतबार विहान ५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा विष्टको निधन भएको हो।

कोरोना संक्रमण भएपछि विष्ट जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका थिए। विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो।

आइतबार विहान ५ बजे उपचारका क्रममा विष्टको निधन भएको उनका भाइ दल विष्टले बताए। पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधानसभा सदस्य समेत हुन ।

विष्ट २२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति बनेका थिए भने पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुन्। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वराज्यमन्त्री विष्टको निधनमा दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत परिवारजनप्रति समवेदन प्रकट गरेका छन्।