काठमाण्डु – प्रतिनिधिसभा सांसद तारा लामा तामाङले संसद्को गरिमा जोगाउन संयमता, सत्यता र आत्मपरीक्षण अपरिहार्य रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आईतबारको बैठकमा विशेष समयमा बोल्दै उनले संसद्लाई विवादको थलो नभई समाधानको मञ्च बनाउनेतर्फ सबै सांसद जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
सांसद लामाले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडीको क्रममा सर्पदंशबाट मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनालाई मानव अधिकार उल्लंघनको उदाहरणका रूपमा प्रस्तुत गरे । उनले छाउपडी प्रथा अन्त्यका लागि कानूनको पूर्ण कार्यान्वयन, स्थानीय सरकार र समुदायसँग समन्वयमा प्रभावकारी सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।
संसद्को गरिमा र सांसदहरूको जिम्मेवारीबारे बोल्दै उनले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, घृणायुक्त अभिव्यक्तिहरू र भ्रमजनक प्रचारप्रति चिन्ता व्यक्त गरे । ‘सांसदले बोलेका प्रत्येक शब्द इतिहास बन्छ’ भन्दै उनले संसद्को मञ्चबाट अभिव्यक्त गरिने विचार संयमित, तथ्यमा आधारित र जनताको समस्यामा केन्द्रित हुनुपर्ने बताए ।
उनले हालैको संसदभित्र कतिपय सांसदहरूको अभिव्यक्तिले संसद्को गरिमा र जनविश्वासलाई खतरामा पारिरहेकोमा चिन्ता व्यक्त गरे । ‘संसद्ले जब बोल्छ, जनताको पीडाको आवाज बनोस्, राजनीतिक सौदा होइन,’ उनले भने ।
सांसद लामाले वर्षायामका कारण महाकाली नदीसहित देशका नदीहरूमा सम्भावित बाढी र पहिरोबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सरकारलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
सांसद लामाले राखेका धारणा –
सम्माननीय सभामुखज्यू,
मेरो जिल्ला कञ्चनपुर को कृष्णपुर नगरपालिका–१ निगालीमा २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको बेला सर्पले डसेर हिजो शनिवार राती ८ बजे उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको खबर अत्यन्तै दुःखद र पीडादायी छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना र अत्यन्त गरिबिको समस्या झेलिरहेको परिवार कि मृतक हालै रोजगारी स्थल भारतबाट घर आउनुभएको थियो । श्रीमान् पुरन दमाई भारतमा रहेका र छोराहरू आयुष दमाई १५वर्ष,आशिष् दमाई १२ वर्ष र आदित्य दमाई ५ वर्षका छन् र मृतकको परिवारलाई राहत तथा आर्थिक सहयताको लागि अनुरोध छ । २१औँ शताब्दीको नेपाल कञ्चनपुरमा त यस्तो छ भने अछाम, बाजुरा, डोटी र बझाङ लगायत पहाडी जिल्लाहरूको केही स्थानहरू र केही समुदायहरूमा यो प्रथा अझै गम्भीर रूपमा विद्यमान छ। जहाँ महिनावारी भएका महिलाहरूलाई आज पनि गोठ, खुला छाप्रोमा जनावरसँगै, भय र अपमानको वातावरणमा, बिच्छी, फठ्याङ्ग्राजस्ता जन्तुहरूको डरमा मात्र होइन, कहिलेकाहीँ मानव हिंसाको पनि शिकार बन्नुपरेको छ। यो केवल सामाजिक प्रश्न होइन, मानव अधिकारको पनि गम्भीर उल्लङ्घन हो। म सरकारसँग अनुरोध गर्न चाहन्छु — छाउपडी उन्मूलनका लागि अझ प्रभावकारी सचेतनामूलक कार्यक्रम, स्थानीय सरकार र समुदायमा समन्वयमा छाउ प्रथा सम्बन्धी भएको कानुन पूर्णरुपमा लागु गरी सबै मिलेर यो कुरीतिको अन्त गरौँ र हाम्रो संविधानमा प्रत्याभूत गरिएका स्त्री–पुरुष समानता र सम्मानजनक जीवनको अधिकारलाई व्यवहारमा उतार्न आवश्यक कार्य गर्न गराउन ध्यानाकर्षण चाहन्छु ।
सम्माननीय सभामुखज्यू, !
म आजको विशेष समयमा संसद्को गरिमा, सांसदहरूको जिम्मेवारी, र जनताको विश्वाससँग प्रत्यक्ष जोडिएका केही संवेदनशील पक्षहरूबारे आफ्नो धारणा राख्न चाहन्छु।
हामी यहाँ कुनै व्यक्तिगत हैसियतले होइन, जनताको प्रतिनिधिका रूपमा उपस्थित भएका हौँ। संसद्को मञ्चमा बोलेका हाम्रा प्रत्येक शब्दले केवल तत्कालीन सन्दर्भ निर्माण गर्दैन, त्यो भावी पुस्ताका लागि अभिलेख बन्छ — इतिहास बनाउँछ। त्यसैले हरेक अभिव्यक्तिमा गम्भीरता, संयमता र जबाफदेहिता अत्यावश्यक हुन्छ ।
आज हामी जुन सदनमा बसेका छौँ, यसलाई केवल राष्ट्रभित्रका जनताले होइन, अन्तर्राष्ट्रिय समुदायले समेत चासोपूर्वक नियालिरहेको हुन्छ। यस्तो मञ्चमा प्रयोग गरिएका शब्दहरू नाप जोखबिना सार्वजनिक हुँदा, ती शब्दहरूले संसद्को गरिमा मात्र होइन, राष्ट्रको शिरसमेत झुकाउने खतरा पैदा गर्छ।
दुखकासाथ भन्नुपर्छ, पछिल्लो समय सांसदभित्र कतिपय अभिव्यक्तिहरू यस्ता देखिएका छन् — जसले गर्दा कतिपय सचेत बर्गले ,हामी केही सांसदको अभिव्यक्तिको कारण, कहीँकतै संसदमा केही सांसदलाई झुटा शिक्षक(False Teacher)को रूपमा चित्रित गर्दै त छैन या त्यस्ता झुटा शिक्षक False teacher हरू पैदा गर्ने वा झुटा शिक्षक False Teacher हरूलाई प्रोत्साहित त गरिरहेको छैन आत्म परीक्षण आवश्यक छ। आध्यात्मिक मान्यतामा कहीँ हामी झुटा भविष्यवक्ता (False Prophet), भ्रमकारी(Deceiver), दानवरूपीको सन्तान(Child of Devil) तथा विकृत सत्यको प्रचारक(Twister of Truth) को तर्फ त कहीँ प्रेरित भइरहेको त छैन । हिजोआज संसारभरमा नै Facebook ,Youtube,TikTok,आम सञ्चार लगायत सामाजिक सञ्जालमा गलत जानकारी (Misinformation), भ्रमपूर्ण सूचना (Disinformation) र घृणायुक्त अभिव्यक्ति (Hate Speech) सधैँ दिइरहने केही तप्काको विषयहरू आइरहँदा सामान्य जनमानस भ्रमित भइरहेको छ नै , आम सचेत वर्गमा समेत यसले ठुलो असर पारिरहेका छन् ।जसले गर्दा धेरै ठुला ठुला समस्याहरू आएको छन् कहिले काहीँ जातीय,क्षेत्रीय धार्मिक असहिष्णुतालाई बढवा दिई रहेको छ । समाज समाज र राष्ट्र राष्ट्र बिच नै द्वन्द्व निम्ताइरहेका छन् र भइरहेका छन् । यस्ता भ्रमयुक्त कुराहरूलाई आधार मानेर बोल्ने प्रतिक्रिया दिने र जान अनजानमा हाम्रो संसद्मा छिराउने कार्य अत्यन्त दुखद हो । जानी जानी क्षणिक आफू र आफ्नो दलको फाइदा हुन्छ कि भनेर बोलिएका विषयवस्तु र गरिएका व्यवहारले तत्समयका लागि केही फाइदा होला “गए झटारो आए आँप” होला । कर्तालाई पनि फाइदा होला यसले निकट भविष्यमा कर्ता , आफै र दल पनि सिकार हुनेछ विचार गरौँ । हामी सत्यको पछाडि छौ एक दिन स्थापित हुने नै छ भन्ने हाम्रो आफ्नोपन झल्काउने भनाइलाई आत्मसात् गरौँ ।
त्यसैले म आग्रह गर्न चाहन्छु — संसद्को पवित्र मञ्चमा बोलेका हाम्रा शब्दहरू जनताका पीडा सुन्न, समस्याको समाधान दिन, र लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउने माध्यम बन्नुपर्छ — विभाजन, अपमान र भ्रम सिर्जना गर्ने कारण होइन।
हामीले यतिखेर गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने अवस्था आएको छ। हल्ला, अपुष्ट जानकारी, व्यक्तिगत रिसइवी, आफ्नो क्षणिक समय सामाजिक सञ्जालमा छाउन वा क्षणिक राजनीतिक लाभको आकाङ्क्षाले निर्देशित अभिव्यक्तिहरू जब सांसदभित्र आउँछ , तब त्यसको असर केवल यहाँभित्र सीमित रहँदैन — त्यसले न्यायपालिका, संवैधानिक अङ्गहरू र समग्र प्रणालीप्रति जनविश्वास डगमगाउने खतरा उत्पन्न गर्छ।
अहिले देखिएको चिन्ता यो हो — विचाराधीन मुद्दाहरूमा संसद्बाट अनौपचारिक टिप्पणी हुने क्रमले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई चोट पुर्याइरहेको छ। संसद् स्वयं कानुनी मर्यादाको सर्वोच्च प्रतीक हो — त्यसैले संविधान र कानुनको प्रक्रिया चलिरहेका विषयमा बोल्दा, हामी झनै संवेदनशील र संयमित हुनुपर्छ।
हामीले यही उद्देश्यले संसद् नियमावली बनाएका हौँ — जुन केवल कानुनी औपचारिकता होइन, आचरण र अनुशासनको मेरुदण्ड हो। यसले हामीलाई संयमित, तथ्यमा आधारित र मर्यादित रहन मार्गदर्शन गर्छ।
म सभामुखज्यूसँग आग्रह गर्न चाहन्छु — सांसदभित्र गरिने असंयमसित, तथ्यहीन र अपमानजनक अभिव्यक्तिहरूप्रति नियमावलीअनुसार आवश्यक र स्पष्ट कार्यवाही होस्। संसद्को मर्यादा जोगाउनु सभामुखज्यूको जिम्मेवारी हो भने, त्यसलाई अझ मजबुत बनाउनु हामी सबै सांसदहरूको साझा दायित्व हो।
म सम्माननीय सभामुख ज्यू मार्फत माननीय सदस्यज्यूहरू र सरकारसँग अनुरोध गर्दछु ।
संसद्मा सांसदले बोलेको हरेक जनसरोकारका विषयमा सरकार अझ संवेदनशीलताका साथ सफल कार्यान्वयनमा जोड दिन सुझाव दिन्छु ।
आउनुस् —
- “संसद्लाई विवादको थलो होइन — समाधानको मञ्च हो”
- लोकतन्त्रलाई बलियो बनाउने यो आवाज आजको यथार्थ हो।
- “झुटो भाषणले होइन, सत्य र संयमताले संसद्को शिर उँचो हुन्छ !”
- संसद्को गरिमा जोगाउन साँचो आत्म परीक्षण जरुरी छ।
- “अभिव्यक्ति यस्तो होस् — जसले सम्भावनाको ढोका खोलोस्, घृणाको होइन।”
- शब्दहरू युद्धको कारण होइन, विश्वासको पुल बनुन्।
- “संसद्ले जब बोल्छ — जनताको पीडाको आवाज बनोस्, राजनीतिक सौदा होइन।”
- जनताका प्रश्नहरू संसद्भित्र उत्तर खोज्नुपर्छ, प्रचार होइन।
- “संसद्लाई श्रद्धाको केन्द्र बनाउन, सांसद संयमित, तथ्यपूर्ण र जिम्मेवार बनुन्।”
- नेपालभित्र स्थायित्व र बाहिर छवि — संसद्कै व्यवहारमा भर पर्छ।
अन्ततः,
संसद्को बलियो उपस्थिति भनेको राष्ट्रको बलियो भविष्य हो —
र त्यसको जग हामी सबैको विवेक, व्यवहार र बौद्धिक जिम्मेवारीमा निर्भर गर्छ।
साथै अहिले बर्षायमको कारण मेरो जिल्ला कञ्चनपुरको दोदा चौधर महाकाली नदी लगायत देशका अन्य नदीहरूमा आउने बाढीको कारण र पहिरो को कारण पार्न सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सरकार उच्च सतर्कताका साथ कदम चाल्न अनुरोध छ ।
धन्यवाद ।




प्रतिक्रिया