काठमाण्डु – कञ्चनपुरमा दशकौंदेखि समाधान हुन नसकेको आरक्ष पीडित समस्याबारे नेकपा एमालेका सांसद तारा लामा तामाङले सदनमा बोलेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आरक्ष पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।
कञ्चनपुरका वन्यजन्तु आरक्ष पीडितहरूको समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । उनले समस्या पहिचानका लागि गठित न्यायिक समितिलाई अधिकारसम्पन्न बनाएर कार्यादेश दिन पनि सरकारलाई आग्रह गरे ।
आरक्ष पीडितहरूको समस्या समाधानका लागि सरकार गम्भीर नभएको र जनप्रतिनिधिको रूपमा आफूहरूले उठाएको मागलाई सम्बोधन गर्ने प्रयास समेत नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘म विनम्रतापूर्वक सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि आरक्ष पीडितहरूको समस्या छिटोभन्दा छिटो समापन गर्न त्यो न्यायिक आयोगलाई छिटोभन्दा छिटो अधिकार सम्पन्न बनाई, स्रोतसम्पन्न बनाई पठाइयोस् । त्यो अहिलेसम्म कार्यक्षेत्रमा पुगेको छैन ।’
देशका विभिन्न स्थानका आरक्ष पीडितहरूले वन्यजन्तुको मार समेत व्यहोर्नु परिरहेकोतर्फ सरकार सचेत नभएको भन्दै उनले आपत्ति जनाएका छन् ।




प्रतिक्रिया