सुदूरपश्चिम प्रदेश सरकारमा तारा लामाले गरे मन्त्री पद अस्वीकार

सुदूरपश्चिम प्रदेश सरकारमा तारा लामाले गरे मन्त्री पद अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिम प्रदेशले तारा लामा तामाङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाएको छ ।

पार्टी संसदीय दलको बैठकले लामालाई प्रमुख सचेतकबाट हटाएको हो । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रदेशसभालाई पत्र लेख्दै लामालाई प्रमुख सचेतकबाट हटाएको जानकारी गराएका छन् ।

पत्रमा भनिएको छ, ‘एमाले संसदीय दलको विधान २०७७ को दफा ११ को उपदफा (१) बमोजिमको खण्ड (ङ) बमोजिम संसदीय दलको प्रमुख सचेतक नियुक्त हुनुभई जिम्मेवारी निर्वाह गरिरहनुभएकोमा निजलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतातर्फबाट अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले उहाँले हालसम्म हाम्रो पार्टीको संसदीय दलको प्रमुख सचेतकको रुपमा निर्वाह गर्नुभएको महत्वपूर्ण जिम्मेवारीका लागि धन्यवाद दिँदै प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा अनुरोध छ ।’

मन्त्री बन्न अस्वीकार गर्दा प्रमुख सचेतकबाट हटाइयो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरिएपनि उनले उक्त पद अस्वीकार गरेपछि दलको प्रमुख सचेतकबाट हटाइएको छ ।

स्रोतकाअनुसार लामालाई आर्थिक मामिला, गृह र भौतिक मन्त्रालय मध्ये एउटा मन्त्रालय रोज्न भनिएको थियो । तर, लामाले एमाले स्थायी कमिटी बैठकले नै सरकारबाट फिर्ता हुने निर्णय गरेकाले आफू पार्टीको निर्णयविरुद्ध नजाने अडान लिएका थिए ।

उनले आफूलाई मन्त्री पद नचाहिएको भन्दै पार्टी निर्णयविरुद्ध जान नसक्ने बताएका हुन् । लामाले मन्त्री बन्ने हो भने पार्टीबाट राजीनामा दिएर सरकारमा सहभागी हुनुपर्ने अडान लिएपछि प्रमुख सचेतकबाटै हटाइएको हो ।

मन्त्री पद खान अस्वीकार गरेका तामाङलाई संसदीय दलको बैठकले प्रमुख सचेतकबाट हटाएर अर्का व्यक्तिलाई नियुक्त गरेको छ । तामाङलाई बर्खास्त गरेर दलका नेता शाहले प्रमुख सचेतकमा लालबहादुर खड्का र सचेतकमा दुर्गा कुमारी कामीलाई नियुक्त गरेका छन् ।

सुदूरपश्चिममा नेपाल समूहको बहुमत रहेको छ । नेपाल समूहको संसदीय दलको बैठकले तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो । केन्द्रको निर्देशन विपरित नेपाल समूह सरकारमा जाने भएको छ । अहिले नेपाल समूहका प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी, पूर्णा जोशी, चुनकुमारी, मना साउद र कूलवीर मन्त्री बन्ने लाइनमा रहेका छन् ।

उनीहरुलाई सम्भवत एक/दुई दिनभित्रै मन्त्री नियुक्त गर्ने तयारी भएको स्रोतले जानकारी दियो । नेपाल समूहबाट भट्ट नेतृत्वको सरकारमा गृहमन्त्री प्रकाश शाह रहेका छन् । एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले गृहमन्त्री शाहलाई निरन्तरता दिने र अन्य सांसदसहित सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

गत जेठ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले भट्ट नेतृत्वको सरकारबाट फिर्ता हुने र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो । सोहीअनुसार सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन बैठकले निर्देशन दिएको थियो ।

सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ जना सांसद रहेका छन् । ५३ सदस्यीय सुदूर पश्चिम प्रदेश सभामा नयाँ सरकार गठनका लागि २७ जना सांसदको आवश्यकता पर्छ । सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रसंग १३, काँग्रेससंग १२ र जसपासंग दुई जना सांसद छन् ।