काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसले अहिले सुक्खाको समस्या भोगिरहे पनि बारा जिल्लामा धान रोपेको खेत देख्दा आफूलाई खुसी लागेको बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने “आज तराई–मधेसमा सुक्खाले समस्या बनाएको छ, यद्यपि बारामा आइपुग्दा धान रोपेका खेत देख्न पाउँदा खुसी लागेको छ ।”
ओलीले दुई दिनअघि मात्रै सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको पनि बताए ।
प्रधानमन्त्री ओलीले तराई–मधेसमा सिँचाइ र खानेपानीको प्रबन्धको लागि डिप बोरिङलगायत योजना अघि सारिएको पनि बताए ।
प्रधानमन्त्री ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको दीर्घकालीन रुपमा चुरेको संरक्षण र सम्वर्द्धनका लागि ठूलठूला तालतलैयाहरुको निर्माण अबको आवश्यकता रहेको औँल्याए ।
“यदि चुरेको संरक्षण गर्न सकिएन भने सुक्खाको समस्या अझ बढ्दै जान्छ, पानीको सतह झनै गहिरिँदै जानेछ”, उनले भने, “पानीको सतह नगहिरियोस् र सिँचाइको समस्या नहोस् भनेर नै हामीले सुनकोशी मरिण डाइभर्सन आयोजना अघि बढाएका थियौँ ।” यद्यपि उनले सुनकोशी मरिण डाइभर्सन आयोजनाले सुस्त गतिमा काम गरेकामा असन्तुष्टि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले सुनकोशी मरिण डाइभर्सन सम्पन्न भएपछि देखिएको सिँचाइको समस्या धेरै हदसम्म समाधान हुने बताए । “उक्त आयोजनाबाट मधेस प्रदेशका पाँच जिल्लामा १८५ हजार बिघा जमिन सिँचाइ गर्न सक्छौँ”, उनले भए, “यहाँको उत्पादन दोब्बर मात्रै होइन् चारदेखि छ गुणासम्म वृद्धि गर्न सकिन्छ ।”
प्रधानमन्त्री ओलीले सुनकोशी–लाहान–सुनकोशी –कमला लगायतका सिँचाइ आयोजना अघि बढाउने गरी सरकारले तयारी गरिरहेको समेत जानकारी दिए ।




प्रतिक्रिया