को हुन् बंगलादेशमा प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ?

को हुन् बंगलादेशमा प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बाङ्ग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेपछि पार्टीका नेता तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने देखिएको छन् ।

बाङ्ग्लादेशको राजनीतिमा सुरुदेखि नै प्रभावशाली रहँदै आएको जिया–रहमान परिवारका उनी सदस्य हुन्। उनका बुवा र आमा दुवै बंगलादेशको राजनीतिमा सक्रिय थिए। बुवा जियाउर रहमान राष्ट्रपति थिए भने उनको हत्यापछि राजनीतिमा पाइला टेकेकी आमा बेगम खालेदा जिया पछि देशकै प्रथम महिला प्रधानमन्त्री बनिन्।

रहमानको राजनीतिक यात्रा त्यति सहज थिएन। उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूले लगाएका नातावाद र भ्रष्टाचारका आरोपहरू खेप्नुपरेको थियो, देश छोडेर निर्वासन बस्नुपरेको थियो र पिताको हत्या भएपछि युवावस्थामा ठूलो चोट खेप्नुपरेको थियो।

६० वर्षका रहमान सन् २००१ मा बीएनपीमा सक्रिय भए। तर अहिले निर्वाचन हुनुभन्दा केही साताअघि आमा खालेदा जियाको मृत्यु भएपछि उनी बीएनपी दलको अध्यक्ष बन्न पुगे। रहमान बीएनपीमा सक्रिय हुँदा खालेदा जिया भर्खर दोस्रो पटक प्रधानमन्त्री बनेकी थिइन्। त्यसअघि उनी सन् १९९१ देखि १९९६ सम्म प्रधानमन्त्री थिइन्।

सन् १९८१ मा बंगलादेशमा सेनाले गरेको सत्तापलटमा राष्ट्रपति जियाउर रहमानको मृत्यु भएको थियो। उनी बंगलादेशको मुक्तिसङ्ग्राममा सहभागी एक महत्त्वपूर्ण नेता थिए। उनले नै सन् १९७८ मा बीएनपी स्थापना गरेका थिए।

आमाबुवाको पदचिह्न अनुसरण गर्दै राजनीतिमा सक्रिय भएका तारिक रहमान सन् २००२ मा पार्टीको वरिष्ठ पदमा नियुक्त भए।
बीएनपीमा उनको उदयलाई विपक्षीहरूले लज्जास्पद नातावादको सङ्ज्ञा दिए। यद्यपि पार्टीभित्र उनले आफूलाई पार्टी अनुशासन कायम गराउने कडा कार्यकर्ताको रूपमा स्थापित गराए।

सन् २००७ मा सेनाको समर्थनप्राप्त अन्तरिम सरकारले उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्‍यो। आफूलाई मुद्दाको सुनुवाइ सुरु हुनुअघि यातना दिइएको दाबी उनले गरे। जेलमा १८ महिना बिताएपछि उनी रिहा भए र त्यसपछि लन्डन गए।
त्यतिबेला प्रकाशित समाचारका अनुसार राजनीति परित्याग गर्ने वाचा गरेपछि उनलाई बंगलादेशबाट लन्डन जान दिइएको थियो। तारिक रहमान १७ वर्ष स्वदेश फर्किएनन्।

तर विदेशमा भए पनि उनले बीएनपीको रणनीति र नीति निर्माणमा सहभागी भए। सन् २०१८ मा बेगम खालेदा जियालाई कारागार पठाइएपछि उनी पार्टीको कार्यवाहक अध्यक्ष बने। शेख हसिनाको शासनकालमा रहमानमाथि विभिन्न आपराधिक अभियोगमा अनुसन्धान भयो। उनको अनुपस्थितिमा चलेका विभिन्न मुद्दाहरूमा उनी दोषी ठहर भए र उनीविरुद्ध विभिन्न सजाय सुनाइयो।

तीमध्ये सन् २००४ मा एउटा राजनीतिक र्‍यालीमा ग्रिनेड प्रहार भएको घटनामा पनि उनको संलग्नता भएको फैसला आयो। तर पछि ती अभियोगहरूबाट उनले सफाइ पाए।उनी २५ डिसेम्बर २०२५ मा स्वदेश फर्किए। त्यसको पाँच दिनपछि उनकी आमाको देहावसान भयो।त्यसपछि ९ जनवरीमा उनले आधिकारिक रूपमा पार्टीको नेतृत्व सम्हाले। विश्लेषकहरू बीएनपीमा उनको उदयलाई अवश्यम्भावी ठान्छन्।

‘रहमानले राजनीतिका अँध्यारा कुना देखेका छन्, देशमा द्वन्द्व र प्रतिशोधको राजनीति पनि भोगेका छन्। आफ्नो राजनीतिक विवेक प्रयोग गरेर उनी पार्टीको नेताबाट देशको नेता बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरा चाहिँ हेर्न बाँकी छ’ राजनीतिक विश्लेषक मोहिउद्दिन अहमद भन्छन् ।