सप्तरी – सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ। भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा भिडन्त भएको हो।
त्यस क्रममा प्रहरीले ५० किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी टोलीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ६ नं गणका एसपी खेमबहादुर थापाले बताए। तस्करसहित करिब ५० केजी गाँजा नियन्त्रणमा लिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार गाँजासहित भारत विहार राज्यको सुपौल जिल्लाका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर रायलाई पक्राउ गरिएको हो। तस्करीमा संलग्न अन्य व्यक्ति भने फरार रहेकाले उनीहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया