-उदयसिंह श्रेष्ठ
नेपालगन्ज – भारतको रुपैडिहा बजारबाट सामान नेपाल भित्र्याउने क्रममा तस्करहरुले खुलेआम ३ वटा चोरी बाटो प्रयोगमा ल्याई तस्करी गर्दा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने अहिलेसम्म कुनै ठोस कदम चाल्न सकेको छैन ।
भारतको रुपैडिहा बजार र रेलवे स्टेशनबिचको बाटोबाट भन्सार छल्ने हिसाबले तस्करहरुले दैनिक १ हजार भन्दा बढी साइकल र मोटरसाइकलमा लाखौंको सामान तस्करी गर्दा पनि नेपाल प्रहरीको जमुनाहा र जयसपुर सिमा प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलको ३० नम्बर गण र भन्सार सुरक्षारार्थ-राजस्व बृद्धिको लागि खटिएका सशस्त्र प्रहरीलाई अत्तोपत्तो हुँदैन ।
सहरी विकास मन्त्री मो. इस्तियाक राईले बुधबार काठमाडौंपाटीसँग कुरा गर्दै भनेका थिए,‘तस्करीको प्रमाण ल्याउनु होस् । म सिडिओ, भन्सार प्रमुख र सुरक्षा निकायलाई तस्करी रोक्न निर्देशन दिन्छु ।’ तस्करले विहीबार दिउँसो मात्र तस्करीकोे तिन वटा बाटो प्रयोग गर्दै सामान ल्याएको र बुम माइकका साथमा क्यामरा सहित पत्रकारलाई देखेपछि सामान फाली भागेका थिए ।
पत्रकार रिपोर्टिङमा पुगेको खबर पाएपछि सशस्त्र प्रहरीको एक टोली त्यसतर्फ पुगेको थियो । तस्करले सामान फालेको बोरामा कपडा र मोटरसाइकलका पार्टस भएको जनाइएको छ । तस्करले प्रयोग गर्ने ३ वटा बाटो र सामान फालिएको भिडियो अहिले भाइरल समेत भएको छ । तर सहरी विकास मन्त्री राईले आफुले बोलेका कुरा पुरा गर्न गराउन अहिले स्थानियबासी प्रतिक्षारत भएको बताइएको छ ।
उक्त क्षेत्रका जानकारहरुका अनुसार नेपाल–भारत बोर्डरमा नेपाल प्रहरीको जमुनाहा इकाइ प्रहरी कार्यालय पर्छ । सोही इकाई प्रहरी कार्यालयको पछाडीको बाटो हुँदै सामान भित्रिने गर्छ । यसैगरी भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरीको यात्रु शाखा र भन्सार मुल गेटमा चेकजाँच हुन्छ तर दिउँसोको समयमा भित्री बाटोमा भने सशस्त्र प्रहरीको कुनै गस्ती नै नजाने गरेको पाइएको छ ।
दुई सुरक्षा फौजको बेरियर पार गर्दै नेपाल प्रहरीको जयसपुर इलाका प्रहरी चौकीको पछाडीको बाटो हुँदै तस्करहरु सामानका बोरा लिई अगाडि बढ्छन् भने केहीले भन्सार कार्यालयको पश्चिममा रहेको सिटी बसपार्कमा तस्करी गरी ल्याइएको सामान बसमा राख्छन् ।
केहीले बसमा सामान राख्छन् भने केहीले सशस्त्र प्रहरी बल ३० नं. गण हुँदै नेपालगन्ज पुर्याइन्छ । बसमा राखिएको सामानको हकमा सशस्त्र प्रहरी बल ३० नं. गणको चेक प्वाइन्टमा सशस्त्र प्रहरीसँग हात मिलाउँदै बस अगाडि बढ्ने गरेको बताइएको छ ।




प्रतिक्रिया