काठमाडौं – तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको छ। सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ।
२०७२ वैशाख १२ को भूकम्पबाट भौतिक पूर्वाधारमा क्षति पुगेपछि नाका बन्द थियो। चिनियाँ पक्षले पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयन गर्न जेठ १५ देखि नाका पुनः सञ्चालन गरेको हो। यहाँबाट मालवाहक सवारी साधन मात्र ओहोरदोहोर गर्छन्। गृह मन्त्रालयले अध्यागमन कार्यालय भने खोलिसकेको छ।
चिनियाँ पक्षले अध्यामगन सेवा सुचारु नगर्नुको स्पष्ट कारण भने खुलाएको छैन। नाकासहित आसपासका क्षेत्रबाट चीनविरोधी गतिविधि हुने उनीहरूको बुझाइ छ। तिब्बती शरणार्थीका ‘अवाञ्छित’ गतिविधिका कारण यो क्षेत्रलाई चीनले संवेदनशील मानेको छ। यो क्षेत्रबाट चीनविरोधी गतिविधि नहुने प्रत्याभूति नेपालले गराउनुपर्ने चीनको अडान छ।
चिनियाँ अध्यागमन र सुरक्षा अधिकारी तत्काल आवतजावत नहुने संकेत गरी स्वदेश फर्किएका छन्। चिनियाँ अध्यागमन उपमहानिर्देशक बाङ सिहोङको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित ६ सदस्यीय प्रतिनिधिमण्डल अघिल्लो साता नेपाल आएको थियो। उक्त टोलीले गृहसचिवलगायत सुरक्षा निकायका प्रमुखसँगको छलफलमा यो विषय उठाएको स्रोतले बताएको छ। नेपाली पक्षले तातोपानी क्षेत्रमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको छ।यो खरब आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया