भूकम्पपछि बन्द भएको तातोपानी नाका दुईतर्फी खुल्यो


काठमाण्डु – सिन्धुपाल्चोककाे तातोपानी नाका साेमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । ८ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएकाे हाे। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप साेमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

साेमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार साेमबारदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुला भएको हो ।

२०७२ सालको भूकम्पबाट तातोपानी नाकातर्फको सडकमा पूर्ण क्षति पुगेको थियो । जसकारण, चीनतर्फको निर्यात बन्द भएको थियो । यद्यपि, यसबीचमा नेपालतर्फको आयात भने निरन्तर भइरहेको थियो । भूकम्पले क्षति पुर्याएको ४ वर्षपछि चीनले तातोपानी तर्फको सडक, मितेरी पुल र सुख्खा बन्दरगाह समेत बनाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement