ताइवानबाट अमेरिकी सभामुख फर्किएसँगै चीनले गर्‍यो सैन्य अभ्यासको घोषणा

ताइवानबाट अमेरिकी सभामुख फर्किएसँगै चीनले गर्‍यो सैन्य अभ्यासको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –  अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमा वरपर सैन्य अभ्यास सुरू गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीटमार्फत सैन्य अभियान सुरू गरेको जानकारी गराएका हुन्। ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ। चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ,’ उनले भनेका छन्।

छोटो तर विवादास्पद भ्रमणपश्चात अमेरिकी सभामुख न्यान्सी पलोसी ताइवानबाट फर्किसकेकी छन्। २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता समेत गरेकी थिइन्।

बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पलोसीले बेवास्ता गरिन्।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ। बुधवार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्, “आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।” उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरिसकेकाे छ।

बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा “लामो दूरीको प्रत्यक्ष गोलाबारी” समेत हुनेछ। ताइवानका बन्दरगाह अधिकारीहरूले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेका छन् र यातायात मन्त्रीले ताइपेईले छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताएका छन्।

बढ्दो तनावबीच चीनले ताइवान र मुख्य चिनियाँ भूभागको अनौपचारिक विभाजन रेखामाथि युद्धविमानहरू उडाएको थियो। भेटवार्ताको क्रममा त्यहाँकी राष्ट्रपति वूनले पलोसीले ताइवानलाई “स्वतन्त्रता चाहने मानिसहरूको प्रेरणा”को रूपमा तारिफ गरिन्। – बीबीसी