काठमाण्ड – प्रतिनिधि सभामा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
शिक्षक र विद्यालय कर्मचारीका मूलभूत मुद्दाहरूलाई सम्बोधन नगरीकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै महासंघले सडक आन्दोलनको घोषणा गरेको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले सरकारका कारण आफूहरू आन्दोलनमा जान बाध्य भएको बताए । उनले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको जानकारी दिए ।
तुलाधरले शिक्षकलाई पञ्चायतकालभन्दा पनि अंकुश लगाउने गरी ऐन प्रस्तुत भएको बताए । उनले ऐनमा संघ सरकारले शिक्षकको तलबभत्ता सुनिश्चित गरे पनि दरबन्दी मिलानका क्रममा पालिकालाई अधिकार दिइएको भन्दै आपत्ति जनाए ।
अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायित्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षक महासंघको आरोप छ ।




प्रतिक्रिया