शिक्षक आन्दोलन : प्रदर्शन र वार्ता सँगसँगै

शिक्षक आन्दोलन : प्रदर्शन र वार्ता सँगसँगै

वार्ता सकारात्मक रुपमा अघि बढेको सरकार र शिक्षक दुबै पक्षको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु २८ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार पनि वार्ता हुँदैछ । बुधबार दिउम्सो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुने छ ।

वार्तालाई अन्तिम रूप दिन बुधबार फेरि वार्तामा बस्न लागेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिए ।

‘आज पनि वार्ता छ । सम्भवतः निर्णायक नै बनाउने भन्ने प्रयत्न हो । सरकारले पनि मन्त्रिपरिषदबाट निर्णउ गर्‍यो भने राम्रो सन्देश जान्छ’, उनले भने । वार्ता निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहने पनि उनले बताए । उनका अनुसार वार्ता र प्रदर्शन सँगसँगै जारी रहन्छ ।

यसअघि सोमबार र मंगलबार दुवै पक्षबीच पटक पटक वार्ता भएको छ । वार्ता सकारात्मक रुपमा अघि बढेको सरकार र शिक्षक दुबै पक्षले बताएको छ ।

मंगलबार भएको वार्तामा नेपाल शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । ती प्रस्ताव नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने छ ।

महासंघले बुझाएको ९ बुँदे प्रस्तावमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाण्डुस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने उल्लेख छ ।

महासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने, राहत शिक्षकका सरोकारलगायत विषयमा प्रस्ताव पेस गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू चैत २० गतदेखि काठमाडौंस्थित आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल समेत गरेका छन् ।

सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासंघले जनाएको छ । कक्षा १२ को परीक्षा संचालन गर्न दिनेगरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने उनीहरूको भनाइ छ ।