सरकारसँग वार्ता गर्न शिक्षक महासंघले गर्‍यो अस्वीकार

सरकारसँग वार्ता गर्न शिक्षक महासंघले गर्‍यो अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारले आह्वान गरेको वार्तामा बस्न अस्वीकार गरेको छ ।

शिक्षा मन्त्रालयले बुधबारका लागि बोलाएको वार्तामा बस्न महासंघले अस्वीकार गर्दै सर्त राखेको हो ।
तर महासंघले आफूहरू विद्यालय शिक्षा ऐन कसरी ल्याउने भन्ने विषयमा छलफल गर्ने भए मात्र वार्ता गर्ने जनाएको छ ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २०८० असोज ५ गतेको सहमतिअनुसार माग पूरा गर्ने विषयमा मात्र छलफल गर्न आफूहरू तयार रहेको बताए ।

शिक्षकहरूसन्ग छलफल गर्न फोनका साथै औपचारिक पत्र पठाए पनि महासंघ वार्तामा उपस्थित नभएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

महासंघलाई पत्र पठाएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री भट्टराई शहरी विकास मन्त्रालयमा पुगेर वार्ताको तयारी गरेका थिए । तर, शिक्षकहरूको उपस्थिति नभएपछि वार्ता हाललाई स्थगित गरिएको मन्त्री भट्टराईले बताइन् ।

शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन गर्न र विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० देखि काठमाडौँमा आन्दोलन गरिरहेको छ ।

यस क्रममा चैत २५ देखि शिक्षकहरू अनिश्चितकालीन शैक्षिक हड्तालमा उत्रिएका छन् । यस अघि पनि शिक्षा मन्त्रालयले चैत २१ र २२ गते शिक्षक महासंघलाई वार्तामा बोलाएको थियो ।

यसैबीच विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निमित्त सिंगो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैव सकारात्मक रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षक समुदायका प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु र यस विषयप्रति शिक्षक तथा कर्मचारीको चासो रहनु स्वाभाविकै हो ।’

शिक्षा मन्त्रालयले विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रक्रियाका सम्बन्धमा निश्चित कानुनी बन्दोबस्तबारे पनि स्मरण गराएको छ ।