काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारद्वारा नवनियुक्त राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख टेकेन्द्र कार्कीको भारत भ्रमण स्थगित भएको छ ।
नेपालमा परिवर्तित परिस्थिति र नयाँ सरकारले काम सुरु गरेका बेला गुप्तचर प्रमुख कार्की भारत भ्रमणमा जाँदा राम्रो सन्देश नजाने भन्दै उनको भ्रमण स्थगित गरिएको उच्च स्रोतले जनाएको छ ।
भारतले दक्षिण र पूर्वी एसियाका देशका राष्ट्रिय सुरक्षा सल्लाहकार र गुप्तचर प्रमुखको सहभागितामा हरेक वर्ष सम्मेलन गर्दै आएको छ । जसमा यसपालि गुप्तचर प्रमुख कार्की सहभागी हुने तय भए पनि अन्तिममा भ्रमण स्थगित भएको छ । भारतको विदेशी गुप्तचर संस्था रअ प्रमुख पराग जैनसँग औपचारिक चिनारी र सम्बन्ध सुदृढीकरणका लागि प्रमुख कार्की भारत भ्रमणमा जान लागेका थिए ।
प्रमुख कार्कीको भ्रमण स्थगित भए पनि विभागका डीआईजी कृष्ण खनाल र भक्तपुरका एसपी टेकराज तिमिल्सिना भने भारत गएका छन् । सुरक्षा, प्रतिआतंकवाद, लागूऔषध, मानवबेचबिखन लगायतमा दुवै देशका गुप्तचरले मिलेर काम गर्ने गरेका छन् ।
नयाँ गुप्तचर प्रमुख नियुक्त भएपछि भारत भ्रमणमा जाने परम्परा पनि रहँदै आएको विभाग स्रोतले जनाएको छ । यसअघिका प्रमुखहरू हुतराज थापा र गणेश अधिकारी पनि नवनियुक्त हुँदा भारत भ्रमणमा गएका थिए ।




प्रतिक्रिया