काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेकी श्रीमती मञ्जु पाण्डेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै थुनामुक्त गर्न माग गर्दै उनले शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।
मञ्जुले पति टेकनारायणलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधीवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय अनि सर्वोच्च अदालतलाई समेत विपक्षी बनाएकी छन् ।
निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्ने तयारी भए पनि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हेर्न नमिल्ने भएपछि स्थगित भएको छ ।
२० वैशाख, २०८० मा पक्राउ परेका पाण्डेलाई जिल्ला, उच्च र सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छन् । उनीविरुद्धको नक्कली भुटानी शरणार्थी प्रकरणको ठगी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
पाण्डे गृहसचिव भएको बेलामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोप लागेको छ ।




प्रतिक्रिया