हुम्लामा टेलिफोन सेवा अवरुद्ध हुंदा सेवाग्राही मर्कामा

हुम्लामा टेलिफोन सेवा अवरुद्ध हुंदा सेवाग्राही मर्कामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन् ।

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो । माघ ८ गतेदेखि अवरुद्ध बनेको टेलिफोन सेवा मर्मत नहुँदा स्थानीय टेलिफोन सेवाबाट वञ्चित भएका हुन् ।

टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित बनेको दार्माका सपना ऐडीले बताए । टेलिकमका प्राविधिक आएर मर्मत गर्न खोज्दा मर्मत हुन नसकेर उनीहरु फिर्ता गएको ऐडीले बताए ।

गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । “एक महिना भयो, आफन्तजनसँग कुराकानी गर्न सकिएको छैन । कतिपय कामका लागि हिँडेर एक गाउँबाट अर्को गाउँ जानुपर्ने बाध्यता छ । यससम्बन्धी नेपाल टेलिकमलाई जानकारी गराएको भए पनि अहिलेसम्म मर्मतसम्भार गरिएको छैन् ।”

गाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा वल्र्डलिङ्कबाट सामाजिक सञ्जालमा जोडिने गरेको यहाँका स्थानीयवासी बताउँछन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ । मोबाइलमा नेटवर्क देखाउने गरे तापनि फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने गरेको स्थानीयवासी कुसुम बुढाले बताउनुभयो । उनले भने , “एक महिनादेखि टेलिफोनले काम गरिरहेको छैन जिल्ला बाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।”