बाजुरामा नेपाल टेलिकमको फाइबर टावरमा तोडफोड, सञ्चार सेवा ठप्प

बाजुरामा नेपाल टेलिकमको फाइबर टावरमा तोडफोड, सञ्चार सेवा ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु- बाजुराको बुढीगङ्गा नगरपालिका ६, बाम्कामा रहेको नेपाल टेलिकमको फाइबर इन्टरनेट टावरमा अज्ञात समूहले तोडफोड गरेको छ। गएराति भएको यस घटनाका कारण नगरपालिका क्षेत्रमा इन्टरनेट तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार अज्ञात समूहले टावरका तारहरू चुँडाल्नुका साथै अन्य उपकरणहरूमा समेत क्षति पुर्‍याएको छ। टावरमा भौतिक क्षति पुर्‍याइएकाले सेवा अवरुद्ध भएको र मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोली परिचालन भइरहेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले घटनाबारे जानकारी प्राप्त हुनासाथ संलग्न व्यक्तिहरूको खोजीका लागि प्रहरीलाई कडा निर्देशन दिइएको बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घटनास्थलमा प्रहरी टोली खटाइएको छ र तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको छ।

नगरपालिकाको मुख्य व्यापारिक केन्द्र बाम्का नजिकै रहेको टावरमा क्षति पुगेपछि स्थानीय बासिन्दा, बैंकिङ सेवा र सरकारी कार्यालयहरूको दैनिक कामकाज प्रभावित भएको छ।