काठमाण्डु– कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालय कैलालीले स्पष्टीकरण दिएको छ ।
टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञप्ति जारी गर्दै वन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कार्यालयले उक्त टेम्पु गुड्ने वा चालु हालतमा रहेको सवारी साधन नभई, केबल वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न राखिएको एउटा गुड्न नमिल्ने कवाडी संरचना मात्र रहेको प्रस्ट पारेको छ।
अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो । सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौँ। विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘उल्लिखित अतिक्रमित वन क्षेत्र नेपालकै अत्यन्त संवेदनशिल र कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्र अन्तर्गत पर्दछ। यस क्षेत्रमा सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानूनी ढङ्गले भागबण्डा गरी भित्री रूपमा बेचबिखन गर्ने र खोका-छाप्राहरू खडा गरी सरकारी वन जमिन कब्जा गर्ने श्रृंखला विगत लामो समयदेखि चल्दै आएकोले वन प्रशासनले यसलाई समयसमयमा नियन्त्रण गर्दै आइरहेको थियो।’
यसअघि टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरी नहटाएकोमा वन कर्मचारीहरुले धकेलेर उक्त टेम्पोलाई उनको घरसम्म पुर्याइ दिएका थिए । धामीले पुनः सोही ठाउँमा ल्याई राखी पसल सञ्चालन गर्दै आएका थिए । हटाउन आग्रह गर्दा जे गरे गर्नुस भन्दै अटेर गरेको कार्यालयले जनाएको छ ।
‘सो कवाडी ढाँचालाई एक महिना अगाडि नै हटाउन निर्देशन दिँदा सँगैका अन्य १० छाप्राहरू हटे तापनि सो कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरी नहटाएकोमा वन कर्मचारीहरुले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्याइ दिएका थिए । तत् पश्चात उक्त टेम्पो निजले पुनः सोही ठाउँमा ल्याई राखी पसल सञ्चालन गर्दै आएका थिए । यस पटक पनि उक्त टेम्पोलाई हटाउन निर्देशन दिँदा निजले टेम्पो नहटाउने, जे गरे गर्नुस भन्दै अटेर गरी गालीगलौजमा उत्रेका थिए ।’ विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया