भक्तपुर नगरपालिकामा दश महिनामा एकानब्बे करोड आम्दानी


भक्तपुर – भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४\७५ को १० महिनाको अवधिमा ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनःनिर्माण प्राधिकरणसँग १० करोड ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ ।

नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र जनस्वास्थ्य सेवा केन्द्रका लागि ४१ करोड खर्च गर्ने भएको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानका लागि चालू आवमा छ करोड ४८ लाख ७८ हजार खर्च गर्ने लक्ष्य लिएकोमा गत चैत मसान्तसम्म तीन करोड ९३ लाख खर्च गरेको नगर प्रमुख प्रजापतिले बताए । नगरपालिकाले चालू आवभित्र सरसफाइका लागि छ करोड ५० लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

विकास निर्माणतर्फ ३१ करोडको बजेट विनियोजन गरेकामा प्रत्येक वडा कार्यालयलाई ५० लाखका दरले बजेट वितरण गरेको नगर प्रमुख प्रजापतिले बताए । विकासका साना काम वडा कार्यालय आफैँलाई गर्न बजेटसहितको अधिकार दिइएको छ । गत आवमा आन्तरिक आयतर्फ २१ करोड ५० लाख ५४ हजार संकलन गरेको नगरपालिकाले चालू आवमा २६ प्रतिशतले वृद्धि गरी २७ करोड नौ लाख १५ हजार आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement