काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पकड क्षेत्र मानिने रोल्पाको थबाङ गाउँपालिकाको वडा नम्बर १ मा उपनिर्वाचन भइरहेको छ ।
दिउँसो २ बजेसम्म थबाङ–१ मा २ सय मत खसेको छ । वडा नम्बर १ मा १ हजार २ सय ७४ जना मतदाता रहेका छन् ।
थबाङमा दुई वटा मतदान केन्द्र तोकिएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कलमबहादुर रोका प्रतिस्पर्धामा छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका विप्लवका नेता भद्रबहादुर झाँक्रीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । वडाध्यक्षमा उम्मेदवारी दिन उनले वडासदस्य पदबाट समेत राजीनामा दिएका थिए ।
यसअघि थबाङमा विप्लव नेतृत्वको नेकपाका नेता फर्कबहादुर बुढासहितको प्यानल स्वतन्त्रबाट निर्वा्चित भएको थियो । वडाध्यक्ष बुढाको गएको असारमा मस्तिष्कघातका कारण निधन भएपछि थबाङ १ मा वडाध्यक्ष पदमा उपचुनाव भएको हो ।
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता नभएकाले बुढाले स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी भएका थिए ।




प्रतिक्रिया