काठमाण्डु — थाइल्याण्ड र कम्बोडियाको सीमामा तनाव सिर्जना भएको छ। बिहीबार बिहानदेखि विवादित सीमाक्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान भएको हो।
कम्बोडियाली अधिकारीहरूले चलाएको गोली लागेर एक नागरिकको मृत्यु भएपछि थाइल्याण्डले हवाई आक्रमण गरेको बताइएकाे छ ।
आक्रमणमा परि कम्तीमा ९ थाई नागरिकको मृत्यु भएको बिबिसीले जनाएको छ। रोयल थाई आर्मीका अनुसार सिसाकेट प्रान्तमा ६ जना, सुरिन प्रान्तमा २ र उबोन रत्चाथानी प्रान्तमा १ एक जनाको मृत्यु भएको हो ।
थाइल्याण्डका ८६ वटा गाउँका करिब ४० हजार मानिसलाई सुरक्षित स्थलमा सारिएको छ भने कम्तिमा ६ स्थानमा तनाव फैलिएको छ।
बिहीबार बिहान एक फेसबुक पोस्टमा कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डसँग बढ्दो तनावको बीचमा नागरिकहरूलाई शान्त रहन आग्रह गरेका छन् ।
उनले भनेका ‘कम्बोडिया सधैं शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने आफ्नो सिद्धान्तमा अडिग रहेको छ। तर यस अवस्थामा, हामीसँग सशस्त्र आक्रमणको विरुद्ध सैन्य बल प्रयोग गरेर प्रतिक्रिया दिनुको विकल्प छैन।’
हाल थाई सेनाले कम्बोडियासँगको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। कम्बोडियाको तर्फबाट क्षतिको जानकारी भने आएको छैन।




प्रतिक्रिया