काठमाण्डु – थाइल्याण्ड र कम्बोडियाबीच एक हजार वर्ष पुरानो दुई शिव मन्दिरको कारण युद्ध जारी छ ।
अहिले दुवै देशका सेनाबीच सीमामा १२ स्थानमा झडप भएको छ । यसअघि थाईल्यान्डले क्याम्बोडियासँग सीमा जोडिएका आठ वटा जिल्लामा सैनिक शासन लागु गरेको थियो।
थाई सरकारका अनुसार १ लाखभन्दा बढी नागरिकहरूलाई आफ्नो घर छोड्न बाध्य पारिएको छ । दक्षिण पूर्वी एशियाका दुई छिमेकी देशहरूबीच बिहीवारयता जारी द्वन्द्वमा ३२ जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। सीमा विवाद एक्कासि चर्किँदा दुवै पक्षबाट शक्तिशाली अस्त्रहरू प्रयोग भएका छन्। द्वन्द्वमा दशौँ हजार मानिसहरू विस्थापित भएका छन्।
थाइल्याण्डले कम्बोडियासँग जोडिएका ८ जिल्लामा ‘मार्शल ल’ घोषणा गरेको छ । थाई विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘जबसम्म कम्बोडियाले आक्रामक गतिविधि रोक्दैन, युद्धविरामका कुरा गर्न अझै चाँडो हुनेछ ।’

विवादको जरो
थाइल्याण्ड र कम्बोडियाको सम्बन्ध लामो समयसम्म खमेर साम्राज्य (कम्बोडिया) र सियाम साम्राज्य (थाइल्याण्ड)बीचको संघर्षले प्रभावित रहेको छ ।
फ्रान्स र बेलायती उपनिवेशकालमा पनि यी दुई देशका सीमाहरूमा तनाब रहेको थियो । खासगरी प्रीह विहियर (प्रिय विहार) र ता मुएन थाम मन्दिर वरपरको भूमिलाई लिएर दुई देशबीच कानुनी र राजनीतिक विवाद जारी रह्यो ।
१९०७ मा जब कम्बोडिया फ्रान्सको उपनिवेशमा थियो, त्यतिबेला दुवै देशबीच ८१७ किलोमिटर लामो सीमा तय गरिएको थियो ।
तर थाइल्याण्डले यसमा विरोध गर्यो, किनभने नक्सामा प्रीह विहियर मन्दिर कम्बोडियाको क्षेत्रभित्र देखाइएको थियो ।
यता, ता मुएन थाम मन्दिर थाइल्याण्डको क्षेत्रभित्र देखाइएको थियो तर कम्बोडियाले यसलाई आफ्नो दाबी गर्दै आएको छ ।
ता मुएन थाम मन्दिर दुवै देशबीचको अस्पष्ट सीमामा पर्छ । थाइल्याण्डतर्फ भौगोलिक रूपमा रहे पनि कम्बोडिया यसको ऐतिहासिक अधिकार दाबी गर्छ, किनभने यो खमेर साम्राज्यको समयमा बनेको थियो ।
खमेर साम्राज्य एक शक्तिशाली सभ्यता थियो, जुन ९औंदेखि १५औं शताब्दीसम्म कायम थियो । र कम्बोडियाका साथै लाओस, थाइल्याण्ड र भियतनामसम्म फैलिएको थियो ।
थाइल्याण्डले ता मुएन थाम मन्दिर पुरातात्विक रूपमा कम्बोडियाको हुन सक्छ भन्दै आएपनि त्यस वरिपरिको जमिन आफ्नो अधिकार क्षेत्रभित्र पर्छ भन्ने दाबी गर्छ ।
यही कारणले दुवै देशका सेनाहरू मन्दिरको वरिपरि नियमित गस्ती गर्छन् र बारम्बार झडपहरू हुने गर्छन् । यस पटकको भिडन्त पनि यही क्षेत्रमा भएको हो ।
थाइल्याण्डले प्रीह विहियर मन्दिरमा नियन्त्रण जमाउने प्रयास गरिरहेपछि १९५९ मा कम्बोडियाले यो मुद्दा अन्तर्राष्ट्रिय न्यायालयमा लगेको थियो ।
१९६२ मा अदालतले मन्दिर कम्बोडियाकै भएको र थाइल्याण्डले आफ्नो सेना फिर्ता लैजानु पर्ने फैसला गरेको थियो ।

थाइल्याण्डले अलालतको आदेश मानेपनि वरिपरिका भू–भागमा दाबी कायम राख्यो । २००८ मा जब युनेस्कोले यो मन्दिरलाई विश्व सम्पदा स्थल घोषणा गर्यो, त्यसपछि विवाद फेरि चर्कियो । २०११ मा स्थिति यति भयावह बन्यो कि हजारौं नागरिकहरूलाई विस्थापित हुनुपरेको थियो ।
२०१३ मा अन्तर्राष्ट्रिय अदालतले पुनः स्पष्ट गर्दै मन्दिर मात्र होइन, वरपरको क्षेत्र पनि कम्बोडियाकै भएको फैसला गरेको थियो । साथै, थाइल्याण्डले आफ्नो सेना त्यहाँबाट पूर्ण रूपमा हटाउनु पर्ने आदेश ग¥यो । तर अझैसम्म सीमा विवाद पूर्णतः समाधान भइसकेको छैन ।
गत दुई महिनादेखि थाई–कम्बोडिया सेनाबीच तनाव चलिरहेको थियो । २८ मेमा एमराल्ड ट्रायङ्गल भन्ने क्षेत्रमा झडप हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो । यो ठाउँ थाइल्याण्ड, कम्बोडिया र लाओसको सिमाना भेटिने स्थान हो, जसमा दुवै देशले दाबी गर्छन् ।
गएको बिहीबार यो विवाद अझ चर्कियो । कम्बोडियाली सेनाका अनुसार थाई सैनिकहरूले ता मुएन थाम मन्दिरतर्फ अगाडि बढ्दै बार लगाइदिए र ड्रोन प्रयोग गरी हवाइ गोली प्रहारसमेत गरे । थाई सेनाले भने विपरीत दाबी गर्दै पहिलो गोली कम्बोडियाले चलाएको दाबी गर्छ ।

युद्धविराम गर्न क्याम्बोडियाको प्रस्ताव
सीमामा तेस्रो दिन पनि संघर्ष जारी रहँदा क्याम्बोडियाले तत्काल युद्धविरामको प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसंघका लागि क्याम्बोडियाका राजदूत कायो चिअले सुरक्षा परिषद्मा आफ्नो देशले निःसर्त युद्धविरामका लागि आग्रह गरेको बताएका छन् ।
तर त्यसका लागि थाईल्यान्ड तयार भने छैन । यद्यपि संघर्षविरामको प्रस्तावबारे थाईल्यान्डले सार्वजनिक रूपमा प्रतिक्रिया जनाएको छैन ।
विश्व नेताहरूले क्याम्बोडिया र थाईल्यान्डबीच तत्काल संघर्षविरामका लागि अपिल गरिरहेका छन् । दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन आशियानको अध्यक्षता गर्ने मलेशियाका प्रधानमन्त्री अन्वर इब्राहिमले दुई देशबीच वार्ताका लागि मध्यस्थता गर्ने बताएका थिए ।





प्रतिक्रिया