काठमाण्डु– थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा बिहीबार भएको सशस्त्र झडपले लामो समयदेखि चलिरहेको तनावलाई अझ चर्काएको छ। झडपमा कम्तीमा ९ जना थाई नागरिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
थाई अधिकारीका अनुसार लडाइँमा गोली हानाहान, गोलाबारी र रकेट प्रहार भएका थिए। थाइल्यान्डले जवाफमा हवाई आक्रमण गरेको दाबी गरेको छ।
थाई रक्षा मन्त्रालयका अनुसार झडप कम्तीमा छवटा विभिन्न सीमा क्षेत्रहरूमा जारी रहेको छ। पहिलो भिडन्त बिहीबार बिहान सुरिन र कम्बोडियाको ओद्दार मिनचे प्रान्तको सीमामा अवस्थित प्राचीन ता मुएन थोम मन्दिर नजिकै भएको हो।
झडपको पृष्ठभूमि
यो भिडन्त मे महिनामा एक कम्बोडियाली सैनिकको हत्या पछि भएको दोस्रो ठूलो सशस्त्र घटना हो। पछिल्लो समय थाई सैनिकलाई लक्षित बारुदी सुरुङ विस्फोटपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो। त्यसको केही घण्टामै स्थिति भड्किएको हो।
दुवै देशले आफूले आत्मरक्षामा प्रतिक्रिया दिएको दाबी गरेका छन्। थाइल्यान्डले सीमामा कडा प्रतिबन्धहरू लगाएको छ, जसले विद्यार्थी, बिरामी र अत्यावश्यक यात्रुहरूबाहेक सबैलाई प्रवेश निषेध गरेको छ। बिहीबार सीमालाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ।
यसैबीच कम्बोडियाले पनि थाई सञ्चार सामग्रीमाथि प्रतिबन्ध, थाई इन्धन, फलफूल र तरकारी आयातमा रोक, साथै केही इन्टरनेट र विद्युत सेवा बहिष्कार गरेको छ।
राजनीतिक असर
सीमा तनावको असर थाइल्यान्डको आन्तरिक राजनीतिमा समेत परेको छ। प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्र एक कम्बोडियाली वरिष्ठ नेतासँगको फोनवार्ता चुहिएको विवादपछि जुलाई १ मा पदबाट निलम्बन भएकी छन्।
उक्त फोन कलमा पेटोङ्टार्नले कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनलाई ुकाकाु भनेर सम्बोधन गर्दै थाई सैन्य नेतृत्वको आलोचना गरेकी थिइन् । राष्ट्रवादले तातेको वातावरणमा यो टिप्पणीले उनको पार्टी फेउ थाईलाई धक्का पुर्याएको छ। गठबन्धन साझेदार भुमजाइथाई पार्टीले समर्थन फिर्ता लिएपछि सरकारले बहुमत गुमाउने खतरा बढेको छ।
पेटोङ्टार्नले माफी माग्दै उक्त टिप्पणीलाई ूराजनयिक रणनीतिको भागू भनेकी छन्। हाल पूर्व रक्षामन्त्री फुमथम वेचाचाई कार्यवाहक प्रधानमन्त्री रहेका छन्।
सीमा विवादको जरा
थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद दुई देशबीचको ८०० किलोमिटर लामो भूमि सीमामा फैलिएको छ। विवादको जरो मुख्यतः १९०७ मा फ्रान्सेली उपनिवेशकालमा बनाइएको नक्सामा आधारित छ। कम्बोडिया यसै नक्सालाई प्रमाण मान्दै आएको छ भने थाइल्यान्डले नक्सा त्रुटिपूर्ण भएको तर्क गर्दै आएको छ।
सबैभन्दा विवादास्पद क्षेत्र भनेको प्रेह विहार मन्दिर परिसर हो। सन् १९६२ मा अन्तर्राष्ट्रिय न्यायालयले मन्दिर क्षेत्रमा कम्बोडियाको सार्वभौमिकता घोषणा गरे पनि विवाद मिलेको छैन। सन् २०११ मा झडपपछिको मुद्दामा अदालतले २०१३ मा पुनः कम्बोडियाको पक्षमा फैसला सुनाएको थियो।
हाल कम्बोडियाले फेरि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लगेको छ तर थाइल्यान्डले अदालतको अधिकार अस्वीकार गरेको छ।
सीमा विवादले दुबै देशमा राष्ट्रवादी भावना चर्काउँदै कूटनीतिक सम्वादलाई कठिन बनाएको छ। यदि संवादको ढोका खुला नराखिए स्थिति अझ गम्भीर हुने चेतावनी विश्लेषकहरूले दिइरहेका छन्।




प्रतिक्रिया