काठमाडौं – प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुलाई शान्ति सुरक्षा तथा समसामयिक विषयमा बिहीबार निर्देशन दिएका छन् । उनले सबै प्रदेशका निमित्त प्रमुखहरुसँग उक्त विषयमा अन्तरक्रिया समेत गरेका थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताकासाथ प्रहरी परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिए । आवश्यकता अनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकता अनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रिया सम्मतरुपमा कानुनी कारवाही अगाडि बढाउनुपर्ने बताए ।
सबै प्रदेशका प्रहरी प्रमुखहरुले आ–आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिकासाथ समस्या समाधानमा लाग्न उनले निर्देशन दिए ।
प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताए । राजमार्ग अवरोध, अवाञ्छित गतिविधि लगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिनु पर्नेमा उनले जोड दिए।
अन्तरक्रियाको क्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा एवं प्रहरीका काम कारवाहीका बारेमा जानकारी दिएका थिए ।




प्रतिक्रिया