बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० वर्षे द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।
नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले मासिक २ हजार ५०० रुपैयाँ जीवन निर्वाह भत्ता दिन थालेको हो ।
द्वन्द्वमा शहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिको श्रीमतीले एकल महिला भत्ता नपाउने हुँदा नगरपालिकाले नै कार्यविधि बनाएर जीवन निर्वाह भत्ता दिन थालेको हो ।
नगरपालिकाले हाल ८ जना महिलालाई भत्ता दिन सुरु गरेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले बताइन् । उनले बेपत्ताका श्रीमतीलाई थोरै भए पनि घर चलाउन सहज हुने बताइन् । ३ वर्षयता राजापुर नगरपालिकाले पनि बेपत्ता पारिएका व्यक्तिको श्रीमतीलाई मासिक २ हजार जीवन निर्वाह भत्ता दिँदै आएको थियो ।
ठाकुरबाबा नगरपालिकाले जीवन निर्वाह भत्ता दिएसँगै बर्दियाका ८ वटा पालिकामध्ये २ वटा पालिकाले बेपत्ताका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिन थालेका हुन् । सरकारले बेपत्ताका श्रीमतीलाई जीवन निर्वाहका लागि व्यवस्था नगरेको हुनाले नगरपालिका आफैंले दिनुपरेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए ।
सरकारले द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई जीविकोपार्जनका लागि नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउनुपर्ने उनको भनाइ छ ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका अनुसार बर्दिया जिल्लामा २६१ जना व्यक्ति बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन् । नेपालभरमा २६ सय भन्दा बढी व्यक्ति बेपत्ता पारिएको उजुरी दर्ता भएको आयोगको भनाइ छ ।




प्रतिक्रिया