थापालाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी,विष्टको प्रदेशमा व्यवस्थापन हुने


कंचनपुर– नेकपा एमाले कंचनपुरको अध्यक्षमा वीरबहादुर थापा पातल बन्ने सम्भावना लगभग पक्का भएको छ । हाल एमालेको जिल्ला अध्यक्ष रहेका थापाको नाममा सहमती हुने सम्भावना बढी देखिएको एमाले स्रोतले बतायो ।

एमाले सचिव समेत रहेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट,प्रदेशका सहइन्चार्ज कर्ण थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारी थापालाई सर्वसम्मत अध्यक्ष बनाउन सहमत भएका छन् ।

कंचनपुर अध्यक्षमा थापासहित भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र अशोक चन्द प्रतिस्पर्धामा छन् । तर, चन्दले सहमति हुने अवस्थामा थापालाई नै सहयोग गर्ने बचन दिइसकेका छन् ।उनलाई सहमतिमा सचिव वा उपसचिव बनाउने तयारी छ ।

हाल जिल्ला सचिव रहेका विष्टको पक्षमा भने कंचनपुर जिल्ला इन्चार्ज निरु पाल छन् । उनलाई केन्द्रीय सदस्यहरु नरबहादुर धामी र कृपा रानाको मात्र साथ छ ।

थापालाई जिल्लाका अधिकांश नेता कार्यकर्ताहरुको साथ रहेको छ । उनलाई केन्द्रीय सदस्य कमला बोहरा,इन्दु कंडरिया, जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा,नेताहरु जयराज पाण्डे,शेरबहादुर चन्द, गगन खत्री, टेक हमाललगायतको साथ रहेको छ ।

कंचनपुुरमा नेतृत्वमा सहमति नभएपनि अध्यक्षमा थापा र विष्टकै प्रतिस्पर्धा हुनेछ । थापाले आफु सहमतीको पक्षमा रहेको तर निर्वाचन भएपनि आफु प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिएका छन् । तर, विष्ट पक्षीय नेताहरुले भने उनलाई प्रदेश र केन्द्रीय आयोगमा व्यवस्थापन गर्नको लागी लविङ गरिरहेका छन् । थापाले भने आफु जिल्ला अध्यक्ष बाहेक अन्यत्र नजाने स्पष्ट पारिसकेको उनि निकट स्रोतले बतायो ।

थापा यसअघि नेकपाको समेत अध्यक्ष थिए । उनी पार्टी विभाजनको बेला अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका थिए । माओवादी पृष्ठभुमिका थापा त्यतिबेला ओलीको पक्षमा उभिने एक मात्र जिल्ला अध्यक्ष थिए । उनि सात वर्षभन्दा बढी जेल समेत परेका नेता हुन ।

विष्ट विचमा लामो समय कुनै कित्तामा नलागेपनि अन्तिममा भने ओलीको पक्षमा खुलेका थिए । उनलाई कंचनपुर एमाले इन्चार्ज पाल अध्यक्ष बनाउन लागेकी छन् । एउटै निर्वाचन क्षेत्र भएको र पछी निर्वाचनमा सहयोग पुग्ने भएकाले पालले विष्टलाई बोकेको कंचनपुरका नेता कार्यकर्ताहरु बताउंछन् । सहमतीमा नेतृत्व टुंगो लगाउन पहल गर्नुपर्नेमा इन्चार्ज नै एउटा व्यक्तिलाई समातेर अघि बढेपछि उनको भुमिकाप्रति प्रदेश नेतृत्व समेत असन्तुष्ट छ ।

प्रदेश नेतृत्वलाई सर्वसम्मती भए आफु सचिव वस्न समेत तयार रहेको सन्देश विष्टलाई दिएको स्रोत बताउंछ । प्रदेश नेतृत्वले उनलाई सचिव वा प्रदेशमा ल्याएर व्यवस्थापन गर्नेबारे छलफल गरिरहेको एक नेताले बताए ।

एमालेले पार्टी एकतालाई मजबुत बनाउन र स्थानीय तह,प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दैै सबैतिर सर्वसम्मत नेतृत्व चयन गर्नको लागी पहल गरिरहेको छ । धेरैजस्तो जिल्लामा सर्वसम्मत नेतृत्व एमालेले चयन गरिसकेको छ भने केही जिल्ला प्रयास जारी छ ।

कंचनपुरमा समेत थापालाई नै सर्वसम्मत अध्यक्ष बनाउन प्रयास जारी छ । उनले यसअघि केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारी हुने चाहना व्यक्त गर्दा पार्टी अध्यक्ष ओलीले नै उनलाई जिल्लाको नेतृत्वमा बस्न निर्देशन दिएको स्रोत बताउंछ ।

थापाले यसअघि पार्टी एकतालाई बचाउन आफु जेठ २ को निर्णयलाई समेत मान्न तयार रहेको बताएका थिए । उनले अध्यक्ष पद तत्कालिन एमाले अध्यक्ष तारा लामा तामाङलाई हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।

अहिलेसम्म कुनै पनि अवसर नपाएका थापा कंचनपुरमा त्यागी नेताका रुपमा चिनिन्छन् । उनलाई सर्वसम्मत अध्यक्ष बनाउन बहुसंख्यक नेता कार्यकर्ताको माग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement