थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै

थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व शुक्रबार कैलाली र कञ्चनपुरमा धुमधामसँग मनाइरहेका छन् ।

खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भनेर गुरहीको प्रतीकका रूपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाइ गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) चलन रही आएको थारु नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले जानकारी दिए ।

उनले भने, ‘गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास समेत रहिआएको छ ।’ गुरही सेलाउने काम सकिएपश्चात् गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा प्रसादका रूपमा एकआपसमा बाँडीचुँडी खाने र नाचगान गरी रमाइलो गर्ने प्रचलन रहेको उनले बताए ।

थारु सामुदाय भित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको सखी सञ्जाल कैलालीकी संयोजक उन्नती चौधरीले बताइन् । ‘विशेषगरी ‘गुरही’ एक प्रकारको कीराको नाम हो, यस कीरालाई नेपाली भाषामा ‘गाइने कीरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस किराले वातावरण सरसफाइमा टेवा पुर्‍याएको हुन्छ,’ उनले भनिन्, ‘यसै गुरहीको प्रतीकका रूपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाई गाउँको चोकमा सेलाउने (असरैना) गर्दछन् र पुरुष सेलाएको गुरियालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध र नराम्रो चिज लैजा भनेर जोरजोरले कराउने प्रचलन रहेको छ ।’

यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरेको छ । गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाँक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहेको थारु अगुवाहरूले बताएका छन् । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ ।

यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, संकट, विपत्ति भाग्ने गरेको जनाइएको छ । परापूर्वकालदेखि यो पर्व थारु समुदायले नागपञ्चमीको दिनमा मनाउँदै आएकाले यो पर्वसँगै अन्य पर्वको सुरुआत हुने गरेको थारु कल्याणकारिणी सभाका पूर्व सभापति माधव चौधरीले बताए । उनले यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्ने चाहिँ कुनै लिखित इतिहास नभएको उल्लेख गरे ।

सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणी सभा धनगढी नगरसमिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिला सभा कैलाली लगायतको संयुक्त आयोजनामा धनगढीको क्याम्पस चोकमा यो पर्व मनाउन कार्यक्रमको आयोजना नै गरिएको छ । जिल्लामा थारु बसोबास भएका विभिन्न गाउँठाउँमा पनि सामूहिक रुपमा गुरही पर्व मनाइरहेका छन् । यो पर्व थारु समुदायले विगत १५ वर्षदेखि धनगढीको क्याम्पस चोकमा भव्यताका साथ मनाउँदै आएको बताइएको छ ।

थारु समुदायले मनाउने गरेको सो पर्वका अवसरमा शुक्रबार जिल्लाका स्थानीय तहले सार्वजनिक बिदा समेत दिएका छन् ।