सरकारी ढुकुटीको दुरुपयोग, गृहमन्त्री र गृहसचिवले कार्यकर्तालाई बाँडे १ करोड ४८ लाख

सरकारी ढुकुटीको दुरुपयोग, गृहमन्त्री र गृहसचिवले कार्यकर्तालाई बाँडे १ करोड ४८ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महालेखा परीक्षकको कार्यालयले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार ५८औं प्रतिवेदनमार्फत महालेखाले शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्चको नाममा मनपरी रकम खर्च गरेको बताएको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा र निवर्तमान गृहसचिव महेश्वर न्यौपानेले आव २०७६/७७ मा सुराकी खर्चबापत १ करोड ४८ लाख ५८ हजार खर्च गरेका छन् ।

शुक्रबार सार्वजनिक प्रतिवेदनका अनुसार न्यौपानेले ७६ लाख ५८ हजार र थापाले ७२ लाख लिएका छन् । २८ वर्षअघि मन्त्रिपरिषद्बाट पारित कार्यविधिलाई टेकेर गृहमन्त्री र गृहसचिवले बर्सेनि आसेपासे र कार्यकर्ता पोस्न सुराकी खर्चका नाममा ढुकुटीको दोहन गर्दै आएका छन् ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले २०५० जेठ १३ मा शान्तिसुरक्षाका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । त्यसबेलाका गृहमन्त्री (हाल प्रधानमन्त्री) शेरबहादुर देउवाले मन्त्रिपरिषद्बाट कार्यविधि पारित गराएर थालेको सुराकी दुरुपयोगको यो शृंखला २८ वर्ष पुग्दा पनि रोकिएको छैन ।

विगतदेखिकै यो गलत परिपाटीको अन्त्य हुनुपर्छ भनेर सम्बन्धित बैठकमा कुरा उठ्ने गरेपनि सुधारमा खासै चासो दिइएको देखिँदैन । महालेखा परीक्षकको कार्यालयले एक दशकदेखि मन्त्रालयबाट हुने अपारदर्शी खर्च रोक्न र त्यसलाई पारदर्शी बनाउन बर्सेनि निर्देशन दिँदै आएको छ ।

  ‘शान्तिसुरक्षामा हुने सुराकी खर्चलाई व्यवस्थित गर्न विगतदेखि नै औंल्याइए पनि सुधार भएको छैन,’ प्रतिवेदनमा भनिएको छ । गृह मन्त्रालयका पूर्वसचिव खेमराज रेग्मीले सुराकी परिचालन र सूचना संकलनका नाममा हुने खर्च आवश्यकता र औचित्यभन्दा कार्यकर्ता र आसेपासेलाई खुसी बनाउन बढी केन्द्रित भएको बताए ।