एजेन्सी – लेबनानको बेरुतमा मङ्गलवार राति भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी रहेकाे लेबनान सरकारले जनाएको छ।
बिस्फोटको घटनापछि बेरुत बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको छ । सूचनामन्त्री मनाल अब्देल समादले सन् २०१४ देखि नै उक्त बिस्फोटक पदार्थलाई भण्डारण गर्ने, सुरक्षा दिने र त्यससम्बन्धी कागजातका काम गर्ने काममा संलग्न सबै बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको जनाएका छन् ।
बेरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय सञ्चार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनीहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए।
बेरुत बन्दरगाहमा असुरक्षित रुपमा गोदाममा राखिएको २७५० टन अमोनियम नाइट्रेट बिस्फोट हुँदा उक्त घटना भएको थियो । अमोनियम नाइट्रेट रासायनिक मल बनाउन तथा बिस्फोटक पदार्थ बनाउन प्रयोग गरिन्छ ।
यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्।
उनीहरूले पछिल्लो घटना ‘नि:सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक’ बताएका छन्। अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो।
विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।




प्रतिक्रिया