रहेनन् अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभ

रहेनन् अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –  शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए ।

तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’ महासचिव गुटेर्रेसले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचेभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपति पुटिनले मिखाइल गोर्बाचेभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ ।’

गोर्बाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन् ।

सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए । सोभियत युनियनको पतनसँगै नै आधुनिक रुसको उदय भएको मानिन्छ ।

स्टालिनको शासनकालमा हुर्कंदै गरेका गोर्बाचेभले दोस्रो विश्वयुद्धको असरसमेत प्रत्यक्ष देखे । युद्धपछि मस्कोमा कानुनको पढाइ गरेका उनले कम्युनिस्ट पार्टीमा आफ्नो भविष्य खोजे । साम्यवादमा सुधारको आवश्यक रहेको बताउने गोर्भाचेभ खुलापन र परिवर्तनको पक्षपातीसमेत रहेको बताइन्छ ।