केन्यामा बाँध फुट्दा मृत्यु हुनेको संख्या ४४ पुग्यो


केन्या- केन्याको नाकुरु प्रान्तमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४४ नागरिकको मृत्यु भएको छ । यसअघि बिहीबार भएको यस घटनामा ३२ जनाको मृत्यु भएको जनाइएको थियो । त्यसमा परी ज्यान जाने व्यक्तिको संख्या बढेको हो ।

बाँध भत्किएपछि बाँधको वरपर रहेका झण्डै २५ सय स्थानीय बासिन्दा सुरक्षित स्थानमा लगिएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका थिए । क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले केही व्यक्ति हराइरहेको हुनाले मृतकको संख्या अझै पनि बढ्न सक्ने अनुमान गरिएको बताए ।

बाँध भत्किएपछि आएको पानीको बेगका कारण घर, विद्यालय भवन र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयम्सेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए ।

उद्धार टोलीले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेका थिए । हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरूले बताएका छन् । प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाउँतिर गएकाले ठूलो क्षति भएको हो ।

केन्यामा केही हप्तायता बाढी पहिरोका कारण देशभर कुल १७२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी २ लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस
Advertisement