सभामुखको सचिवालयले भन्यो : एमाले नआउँदैमा बैठक रोकिँदैन

सभामुखको सचिवालयले भन्यो : एमाले नआउँदैमा बैठक रोकिँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले उपस्थित नभएपनि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बस्ने भएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई टेलिफोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी गराएका बेला सभामुखको सचिवालयले एमाले नआउँदैमा बैठक नरोकिने स्पष्ट पारेको हो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले एमाले उपस्थित नभए पनि बैठक बस्ने जानकारी दिए । ‘उहाँहरु नआए पनि बैठक बस्छ । तर अझै समय छ । कोही आउँछन् होला,’ उनले भने ।

सभामुखको सचिवालयका एक सदस्यले आफैं सदन सञ्चालन गर्न सभामुखले प्रतिपक्षसँग सम्वाद गरेन भन्ने अनि बोलाएको बैठकमा पनि नआउने भनेर एमालेले जहाँबाट पनि निहुँ खोज्ने काम गरेको गुनासो गरे ।

‘सम्वाद भएन भन्ने सम्वादमा पनि नआउने, उल्टो उल्टो कुरा गर्न पाइएन । संसद सञ्चालनका लागि सम्वाद भएन भनेपछि हिजो पनि सम्वाद गरियो । आज सर्वपक्षीय छलफलमा नआउने भनेपछि त्यो भन्दा घोर अप्रजातान्त्रिक केही हुन्छ र ?’ उनले प्रश्न गर्दै भने ।

एमालेले निकास नै नचाहेको उनको आरोप छ । ‘उहाँहरुले हिजो पनि त्यहीँ गर्न खोज्नुभयो । आज पनि त्यहीँ गर्न खोज्नुभयो भने निकास त दिँदैन । वादविवाद भएपछि सम्वाद गर्नुपर्छ । बैठक बोलाउँदा आउनुहुन्न भने उहाँहरुले निकास चाहनुहुन्न निहुँ खोजिरहनुपर्छ भन्ने देखिन्छ,’ उनले भने ।