महोत्तरीबाट पूर्वराजालाई ‘थ्रेट’ !

महोत्तरीबाट पूर्वराजालाई ‘थ्रेट’ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संयोग कस्तो पर्‍यो भने सत्ता र प्रतिपक्षका शीर्ष नेताहरू एक दिन एकै पटक एउटै जिल्ला भ्रमण गरे ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार एकै दिन महोत्तरी पुगे ।

प्रधानमन्त्री ओली गौशाला–१ स्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन समारोहमा सहभागी भएभने सभापति देउवा पार्टी कार्यकर्ताबीच बर्दिबासमा र अध्यक्ष दाहाल सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कार्यक्रममा सरिक भएका थिए ।

यी शीर्ष नेताहरूको महोत्तरी भ्रमण एकै दिन पनुै संयोग मात्रै थियो । उनीहरू आ–आफ्ना पार्टीको कार्यक्रममा त्यहाँ पुगेका थिए । कसैको कुनै कार्यक्रमसँग सरोकार र सम्बन्ध थिएन ।

यद्यपी यी नेताहरूले पार्टीको आफ्नो कार्यक्रममा दिएका भनाइ संयोगवश मिलेको छ। पूर्वराजाले गणतन्त्रवादी नेताहरूका कारण देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै प्रजातन्त्र दिवसको दिन दिएको अभिव्यक्तिप्रति उनीहरूले महोत्तरीमा एकैपटक रोष प्रकट गरेका छन् ।

पूर्वराजाले घुमाउरो ढंगबाट राजतन्त्रको पक्षमा आउन आह्वान गरेका थिए । ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिलेपनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउन हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं’ उनले भनेका थिए ।

पूर्वराजाको अभिव्यक्तिपछि राजावादीहरू उत्साहित छन् भने गणतन्त्रवादीहरू प्रतिकारमा उत्रेका छन् । पूर्वराजाको अभिव्यक्तिबाट हौसिएर राप्रपा सडक र सदन दुवैबाट राजसंस्था पुर्नवहालीको एजेण्डा बोकेको छ ।

बिहीबार महोत्तरी पुगेका प्रमुख तीनै दलका शीर्ष नेताहरूले एकसाथ पूर्वराजा ज्ञानेन्द्रको सक्रियताको विरोध गर्दै चेतावनी पनि दिएका छन्

उनीहरूले राजतन्त्र पुनर्बहालीको कुनै सम्भावना नभएको भन्दै पूर्वराजालाई धेरै फुरफुर नगर्न चेतावनी दिए । अध्यक्ष प्रचण्डले राजसंस्था फर्काउने दुस्साहस कुनै पनि हालतमा सफल नहुने बताए । उनले पूर्वराजा ज्ञानेन्द्रले पार्टी खोलेर चुनाव लड्दामात्रै पनि झन ठूलो मूल्य चुकाउनुपर्ने बताए । अब जनताले निरङ्कुश राजतन्त्रलाई नमान्ने चेतावनी उनले दिए ।

कांग्रेसका सभापति देउवाले पनि गणतन्त्रमा राजालाई कुनै पनि भूमिका नहुने स्पष्ट पारे । राजाकै कारण गएको राजसंस्था ज्ञानेन्द्रबाट पुनस्र्थापना हुन नसक्ने देउवाको भनाइ थियो ।

यस्तै, एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पूर्वराजा लोकप्रिय छन् भने चुनाव लडेर मैदानमा आउनु तेतावनी दिए । ‘उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो ? ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो ? कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस् । संविधानअनुसार आउनुस् । पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस्’ ओलीले भनेका थिए ।

महोत्तरीबाट एकसाथ तीन दलका शीर्ष नेताले पूर्वराजामाथि प्रहार गरेको यसले राजनीतिक तरंग पनि ल्याएको छ ।