३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे


बर्दिया – तीन वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३५ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परेर मरेका छन् ।

यसैगरि आर्थिक वर्ष २०७५/०७६ मा २६ वटा र ०७४/०७५ मा २९ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । मर्ने मध्ये सबैभन्दा बढी मृग प्रजाती रहेको निकुञ्जले जनाएको छ । यसपछि मर्ने वन्यजन्तुमा अधिकाशं बँदेल र बादर रहेको पाइएको छ । ३ वर्षको अवधीमा राजमार्गमा सवारीसाधनको ठक्करबाट एउटा वयस्क पाटेबाघ पनि मरेको छ ।

निकुञ्ज क्षेत्रमा सिँचाईका लागि बनाइएको संरचनामा परेर पनि अधिकाशं वन्यजन्तु मर्ने गरेका छन् । सिँचाईका लागि निमार्ण गरिएको नहरमा खसेर वन्यजन्तु मरेका छन् । गत आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी २१ वटा वन्यजन्तु नहरमा खसेर मरेको निकुञ्जको तथ्याङ्क छ । यसैगरि २०७५/०७६मा १७ वटा र २०७४/०७५ मा ४ गरि ३ वर्षको अवधीमा ४२ वटा वन्यजन्तु सिँचाईको नहरमा खसेर मरेका छन् ।

वन्यजन्तुको महत्व बुझाउनका लागि विभिन्न स्थानमा सचेतनामूलक बोर्ड राखिएको छ । वन्यजन्तु ओहोरदोहर गर्ने संवेदनशिल क्षेत्र संकेत गरिएको छ । गति नियन्त्रणका लागि टाइम कार्ड लागू गरिएको छ । तै पनी चालकले सावधानी नअपउँदा दुर्घटना हुने गरेको छ

३ वर्षको अवधीमा चोरीसिकारका कारण ९ वटा वन्यजन्तु मरेका छन् । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा ३ वटा र ०७५/०७६ मा ६ वटा वन्यजन्तु चोरीसिकारका कारण मारिएको निकुञ्ज स्रोतले जनाएको छ । प्राकृतिक कारणले ३ वर्षको अवधीमा ५३ वटा वन्यजन्तु मरेको निकुञ्जको तथ्याङ्क छ ।

यसैगरि ३ वर्षको अवधीमा राजमार्ग दुर्घटना र नहरमा खसेर घाइते भएका १५७ वन्यजन्तुलाई निकुञ्जले उद्धार गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा दुर्घटनामा परेर घाइते भएका सबैभन्दा बढी ७७ वटा वन्यजन्तुलाई निकुञ्जले उद्धार गरेको छ । भने २०७५/०७६ मा ६२ वटा र २०७४/०७५ मा १८ वटा वन्यजन्तुलाई उद्धार गरिएको निकुञ्जले जनाएको छ । उद्धार गरिएका मध्ये मृग प्रजातीका वन्यजन्तु नै धेरै छन् । ३ वर्षको तथ्याङ्क हेर्दा राजमार्ग दुर्घटना र नहरमा खसेर वन्यजन्तु मर्ने क्रम बढ्दो देखिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement