काठमाण्डु – तिब्बत क्षेत्रमा गएको पहिरो हटाउन चिनियाँ टोली खटिएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै गएको पहिरोले माथिल्लो तामाकोसीको सहायक रोङसी खोला थुनिएको छ ।
पहिरोले खोला ताल बनेर बसेको छ । उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली शनिबार बिहानैदेखि परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
ताल धरै ठूलो बनेकाले रोंसी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भन्दै उनले सावधानी अपनाएर ताल फुटाउने काम भइरहेको बताए । ताल फुटाउने क्रम जारी रहँदा प्रशासनले स्थानीयलाई सतर्कता अपनाउँन आग्रह गरेको छ ।
पहिरो हटेपछि पानीको बहाव बढ्ने भएकाले केही ठाउँ क्षति हुनसक्ने अनुमान गरिएको छ । यद्यपी तामाकोसीमा अहिलेसम्म पानी आइपुगेको छैन । उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामबाट पानी छाडिएको छ ।
तामाकोसी जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको छ । आयोजनाको बाँधले प्रतिसेकेन्ड ६ सय घनमिटरको बाढीको बहाव आए ३ सय नदीमा छोडेर ३ सय जलाशयले डेढ घण्टा रोक्न सक्ने छ । तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ ।




प्रतिक्रिया